कक्षा १२ को नतिजा सार्वजनिक : ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डले शुक्रवार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डको  शुक्रवार बिहान बसेको  बैठकले नतिजा सार्वजनिक गरेको हो ।

यसै वर्षको वैशाख १४ गतेदेखि प्रारम्भ भएको कक्षा १२ को परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा तथा एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी थिए । त्यस्तै, ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी थिए । ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५ सय २६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । यो वर्ष देशका ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए ।

उक्त नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी/अनुत्तीर्ण) भएका छन् । नियमिततर्फ परीक्षा ३ लाख ९० हजार ८६८ विद्यार्थी मध्ये २ लाख ३ हजार ८४७ विद्यार्थी उत्तीर्ण भएका छन् । ग्रेड वृद्धितर्फ २०७८/७९ का २८.२६ प्रतिशत पास भएका छन्  भने २०७६/०७७ का ६२.०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा कुल चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए भने यो वर्ष पहिलो पटक स्वचालित छनोट प्रणालीको प्रयोग गरेर परीक्षा केन्द्र निर्धारण गरेको थियो ।

तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र बोर्डको प्राविधिक टोलीले ‘पाइलट प्रोजेक्ट’ को रूपमा सफ्टवेयर बनाई पहिलो पटक काठमाडौँ जिल्लाका परीक्षा केन्द्र स्वचालित विधिबाट छानिएको थियो । २०७९ सालमा ५१.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए भने २०७८ सालमा ४६.४ प्रतिशत विद्यार्थी पास भएका थिए । बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार परीक्षा सञ्चालन गर्दै आएको छ । जसमा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक ल्याउनैपर्ने हुन्छ । ३५ प्रतिशत अंक भन्दा कम आउने विद्यार्थीको नतिजा एनजी आउँछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर