सरकारी जग्गामा झुक्याएर चर्च बनाएपछि धनगढी उपमहानगरपालिकाको डोजर चल्यो

काठमाडौं ।  सरकारी निकायलाई छलेर अस्पताल बनाउने नाममा चर्च र अवैध संरचना बनाइएको पाइएपछि धनगढी उपमहानगरपालिकाले त्यसमा डोजर चलाएको छ । वडा नम्बर ७ स्थित धनगढी मण्डली नामको चर्चसहित अवैध संरचनालाई भत्काइएको हो ।

चर्चको दोस्रो तलामा दुई कोठा, एक भान्सा र दुई चर्पीसहित स्नानकक्ष नक्सा पासबिना निर्माण गरेको पाइएको छ । पेरिमिटर वाल, पोखरी पनि नक्सा पासबिनै बनाइएको छ । चर्चमा निर्माण गरिएको नक्सा पासविपरीतका सबै संरचना भत्काइएको पालिकाका इन्जिनियर सुवास पाठकले जानकारी दिनुभयो । स्थानीयस्तरबाट जनगुनासो बढेपछि उपमहानगरपालिकाको कार्यालयबाट गठित स्थलगत अध्ययन समितिले केही संरचना अवैध रहेको निष्कर्ष निकालेको थियो । समितिले तयार पारेको प्रतिवेदनका आधारमा अवैध संरचना हटाएको जनाइएको छ ।

व्यवसाय र तालिम सेमिनार सञ्चालनका लागि अनुमति लिएको नवनिर्मित दुईतले भवनमा त्योभन्दा फरक कार्य हुन थालेको पाइएपछि वडा कार्यालयले लेट मी इन धनगढी प्रालि र नेपाल लाइफ वल्र्ड मिसनको व्यवसाय दर्ता पनि खारेज गरिदिएको छ । लेट मी इनले नवनिर्मित भवनमा सिपमूलक तालिम तथा परामर्श सेवा सञ्चालनका लागि २०८० साउन २२ गते वडा कार्यालयमा व्यवसाय दर्ता गरेको थियो । त्यस्तै नेपाल लाइफ वल्र्ड मिसनले सेमिनार, तालिम आदि सञ्चालन गर्ने भन्दै २०८१ वैशाख १६ मा वडा कार्यालयमा व्यवसाय दर्ता गरेको थियो ।

यी दुई वटै संस्थाले दर्ता गरेकोभन्दा विपरीत त्यस भवनमा इसाई धर्मावलम्बीको मण्डली सञ्चालन गरिएको पाइएको छ । सरकारी निकाय र आसपासका सर्वसाधारणसमेतलाई झुक्याएर मण्डली सञ्चालन गरिएपछि स्थानीय आक्रोशित बनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर