धरहरा पार्किङलाई लिएर प्रधानमन्त्री ओली र मेयर बालेनबिच टक्कर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा क्षेत्रमा भइरहेको पार्किङ हटाउन मातहतका सरकारी निकायलाई निर्देशन दिएका छन्। सिंहदरबारमा मंगलबार संघीय सरकारका मन्त्री र सचिवहरूसँग ब्रिफिङ लिने क्रममा ओलीले धरहरामा महानगरले पार्किङ गर्न नपाउने बताएका हुन्। धरहरा क्षेत्रमा काठमाडौँ महानगरपालिकाले निस्शुल्क पार्किङको व्यवस्था गर्दै आएको छ।

काठमाडौँ महानगरले तत्कालको ट्राफिक व्यवस्थापन र पार्किङ व्यवस्थापन भन्दै धरहरामा पार्किङ गर्ने व्यवस्था मिलाएको छ। ओलीले धरहराको पार्किङ कुनै पालिका विशेषको हुन नसक्ने बताएका छन्। उनले भनेका छन्, ‘धरहराको पार्किङ कुनै पालिका विशेषको होइन। हुन सक्दैन। यसलाई सरकारको आम्दानीको स्रोत बनाउन सकिन्छ।’

धरहरा उद्घाटन जम्मा ४२ प्रतिशत काम सम्पन्न हुँदा २०७८ वैशाखमा ओलीले नै गरेका थिए। ओलीले उद्घाटन गरेकै तीन वर्ष भए पनि धरहरा सर्वसाधारणका लागि खुला हुन सकेको छैन। तीन अर्ब ८ करोड रुपैयाँ लागत रहेको धरहरा निर्माणको काम भइरहेको छ। धरहरा जीआईईटीसी रमण जेभी कम्पनीले हाल छैटौँ पटक म्याद थपेर निर्माणको काम गरिरहेको छ। सुरुकै सम्झौताअनुसार ०७७ असोज १४मा सकिनुपर्ने भए पनि हालसम्म काम सकिएको छैन। पाचौँपटक म्याद थप्दा ०८० असोजसम्म सकिने भनिए पनि अहिले छैटौँपटक पनि म्याद थप भएको छ। यसपटक एक वर्षको म्याद थपिएको छ।

महानगरपालिकाले गत माघ १४ गतेदेखि धरहरा क्षेत्रमा निःशुल्क पार्किङको व्यवस्था मिलाउँदै आएको छ। धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा निःशुल्क पार्किङ सेवा उपलब्ध भएको हो। महानगरले न्युरोडमा कालोपत्रे सडकमाथि पार्किङ निषेध गरेर धरहरामा पार्किङको व्यवस्था गरेको छ। साथै महानगरले काठमाडौँ टावर (साबिक पुरानो बसपार्क) मा पनि निःशुल्क पार्किङको व्यवस्था मिलाएको छ। मेयर बालेनको सचिवालयले भने तत्कालीन समयमा सम्बन्धित मन्त्रालय र निर्माण कम्पनीसँग मौखिक सहमति गरेर पार्किङ सुरु गरेको स्पष्ट पारेको छ। निर्माण सम्पन्न भई सञ्चालन कार्यविधि नहुँदासम्मका लागि महानगरले पार्किङको व्यवस्था मिलाएको सचिवालयका सञ्चार सहजकर्ता सुरेन्द्र बजगाईँले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर