पेरिस ओलम्पिकमा जम्न सकेनन् नेपालका प्रिन्स

काठमाडौं ।  नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिकको ब्याडमिन्टनअन्तर्गत समूह ‘पी’ को आफ्नो दोस्रो खेलमा पराजित भएका छन्। फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं. २ मा भएको खेलमा प्रिन्स विश्व वरीयताको ४३ औं स्थानमा रहेका आइरिस खेलाडी हात गुयेनसँग सोझो सेटमा पराजित भए।

गुयेनले प्रिन्सलाई २१-७ र २१-५ ले हराएका थिए। गुयेनलाई नतिजा आफ्नो पक्षमा पार्न ३५ मिनेट लागेको थियो। पहिलो सेटको नतिजा १७ मिनेटमा आफ्नो पक्षमा पारेका गुयेनले दोस्रो सेट जित्न १८ मिनेट खर्चिनु पर्‍याे।

प्रिन्सको सर्भिसमा गुयेनले पहिलो सेटमा ६ र दोस्रो सेटमा ४ अंक जोडेका थिए। आफूनो सर्भिसमा भने गुयेनले पहिलो सेटमा १५ र दोस्रो सेटमा १७ अंक बटुलेका थिए। गुयेनको ओलम्पिकमा यो लगातार दोस्रो सहभागिता हो। उनले टोकियो ओलम्पिक २०२० पनि खेलेका थिए।

विश्व वरीयतामा १ सय ७२ औं स्थानमा रहेका प्रिन्सको यो लगातार दोस्राे हार हो। समूह चरणको पहिलो खेलमा पूर्व जुनियर नम्बर वान प्रिन्स विश्व वरीयताको शीर्ष २ स्थानमा रहेका डेनमार्कका भिक्टर एक्सेल्सेनसँग २१-८ र २१-६ को सोझो सेटमा चुकेका थिए। समूह चरणको अन्तिम खेलमा प्रिन्सले ५८ औं विश्व वरीयताका इजरायलका मिसा जिल्बरम्यानसंग बुधबार प्रतिस्पर्धा गर्नेछन्।

ओलम्पिकमा ब्याडमिन्टन नेपालका लागि ‘डेब्यु’ खेल हो। सन् १९६४ को टोकियो ओलम्पिकदेखि नेपालले ओलम्पिकमा भाग लिन सुरु गरेयता ब्याडमिन्टनमा पहिलोपटक सहभागिता जनाएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर