भारततर्फ १६ अर्ब ९३ करोडबराबरको विद्युत् निर्यात

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा १६ अर्ब ९३ करोड बराबरको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले गत आवमा एक अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात गरी १६ अर्ब ९३ करोड २६ लाख आम्दानी गरेको हो ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डे अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ । निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट आठ रुपैयाँ ७२ पैसा छ ।

प्राधिकरणले गत आवमा १६ अर्ब ८१ करोड तीन लाखको विद्युत् आयात गरेको जनाएको छ । सुक्खायाममा खोला तथा नदीहरुमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जल विद्युत्गृहबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न गत आवमा भारतबाट एक अर्ब ८३ करोड ३५ लाख युनिट विद्युत् आयात गरिएको हो । हिउँदयाममा आयात गरिएको विद्युत्को औसत दर प्रतियुनिट नौ रुपैयाँ १७ पैसा छ । गत आवमा आयातभन्दा १२ करोड २३ लाखको बढी विद्युत् भारततर्फ निर्यात भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर