देशभर १० जनामा हैजा सङ्क्रमण भएको पुष्टि

काठमाडौं । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको छ । ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि भएको महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले जानकारी दिए । उनले हैजाबाट बच्न व्यक्तिगत सरसफाइ र सम्बन्धित निकायको व्यवस्थापकीय भूमिका महत्त्वपूर्ण रहेको बताए ।

हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखाला सम्बन्धी रोग हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भने, “हैजाका जीवाणु सङ्क्रमित खाना वा पानीको सेवनका कारण लाग्ने गर्दछ । सरसफाइ तथा स्वच्छ खानेपानीको कमीले यो रोग फैलिने सम्भावना रहन्छ ।” हैजा सङ्क्रमण भएको एक दिनभन्दा कम समयदेखि पाँच दिनसम्म लक्षणहरू देखा पर्छन् ।

उनले थपे, “व्यक्तिगत सरसफाइ व्यवहारमा लागू भएको नदेखिएको बताउँछन् । “शौचालयको व्यवस्थापन राम्रो हुनुपर्छ । शौचालयको व्यवस्थापन कमजोर हुँदा हैजालगायत पानीजन्य रोगहरू फैलिन सक्छ । दिसामा रहेका जीवाणुहरू कुनै कारणले गर्दा बगेर फेरि हाम्रो खानेपानीमा आइपुग्छ । शौचालयको प्रयोग गरेपछि साबुन पानीले मिचिमिचि हात धुन जरुरी छ ।”

हैजालगायत पानीजन्य रोगबाट बच्न उमालेको वा क्लोरिन झोल हालेर शुद्धीकरण गरिएको पानी पिउने, खानेकुरालाई राम्ररी पकाएर खाने, खाना बनाउनु अघि र खाना खानु वा खुवाउनु अघि, दिसापिसाब गरेपछि वा बालबालिकाको दिसा धोएपछि, फोहोर चलाएपछि, घर वा कार्यालय छिर्नु अघि, बाहिर सामान छोएपछि साबुन पानीले कम्तीमा २० सेकेन्डसम्म मिचिमिचि हात धुनुपर्ने विज्ञहरूको सुझाव छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर