कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नतिबारे छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर खेल मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने विषयमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरेका छनु । ओली सरकारको असार ३१ गतेको पहिलो क्याबिनेटले कीर्तिपुर खेल मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने निर्णय गरेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार प्रधानन्त्री ओलीले त्रिविका उपकुलपति प्रा डा केशरजङ्ग बराल, शिक्षाध्यक्ष प्रा डा खड्ग केसी र रजिष्ट्रार प्रा डा केदारप्रसाद रिजालसँग उक्त रङ्गशाला निर्माणबारे छलफल गरेका हुन्। उक्त विषयलाई प्रधानमन्त्री ओलीले छलफलपछि सामाजिक सञ्जालबाट सार्वजनिक गरे ।
उक्त रङ्गशालामा दर्शक बस्न प्याराफिट, रात्रिकालीन खेलकुदका लागि ‘ल्फडलाइट’ र आवश्यक संरचना बनाउने सरकारको निर्णय छ । उक्त कामका लागि तीन सय दिनको समय सीमा निर्धारण गरिएको छ । कुलपति एवं प्रधानमन्त्री ओलीसँग विश्वविद्यालयका पदाधिकारीले त्रिविसभाको आगामी बैठक र ग्रेसलिष्टबारे पनि छलफल गरेका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम एक साताभित्र सुरु हुने

यसैबीच भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम एक साताभित्र सुरु हुने भएको छ । भरतपुर महानगरपालिका र हिमालयन कालिञ्चोक विविआर जेभिले आज संयुक्त रुपमा भरतपुरमा गरेको स्थलगत अनुगमनपछि निर्माण कम्पनीले एक साताभित्र निर्माणको काम सुरु गर्ने जनाएको हो । धुर्मुस सुन्तली फाउण्डेशनले रङ्गशाला निर्माणका लागि ल्याएर बाँकी रहेको सामानको लगत सङ्कलनको काम सुरु गरिएको छ । महानगर प्रमुख रेणु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीसहित निर्माण व्यवसायीका प्रतिनिधिहरुले स्थलगत अनुगमन गरेको हो ।

महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालका अनुसार फाउण्डेशनले निर्माणका लागि ल्याएका सामान महानगरपालिकाले व्यवस्थापन गर्नुपर्ने हुँदा मुचुल्का उठाउने काम सुरु गरिएको बताए । रङ्गशाला निर्माणका लागि गत असार २३ गते महानगरपालिका र निर्माण कम्पनीबीच सम्झौता भएको थियो । महानगरपालिकाका प्रमुख दाहालका अनुसार रु ७८ करोड ५० लाख ९१ हजार एक सय ८९ मा निर्माण सम्पन्न गर्ने गरी द्विपक्षीय सम्झौता भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर