नेपाल-बङ्गलादेश विद्युत् बिक्री सम्झौता स्थगित

काठमाडौं । बङ्गलादेशसँग हुने भनिएको ४० मेगावाट विद्युत् बिक्री सम्झौता रोकिएको छ । बङ्गलादेशमा आरक्षणको विरोधमा भएको हिंसात्मक आन्दोलनका कारण तत्कालका लागि सम्झौता रोकिएको हो ।

यसअघि यही साउन १३ गतेका लागि सम्झौता समय तोकिएको थियो । बङ्गलादेशबाट र भारतबाट समेत प्रतिनिधि काठमाडौँ आएर नेपालसहित त्रिपक्षीय सम्झौताको समय तय भएको थियो । बङ्गलादेशमा भएको हिंसात्मक आन्दोलनका कारण तत्काललाई रोकिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले बङ्गलादेशले नेपाललाई सम्झौता समय स्थगित गर्न पत्र पठाएको बताए ।  बङ्गलादेश सरकारले आरक्षणको व्यवस्था लागू गरेपछि विश्वविद्यालयका विद्यार्थी आन्दोलनमा उत्रिएका थिए ।

सो आन्दोलनमा डेढसय जनाभन्दा बढीले ज्यान गुमाएका छन् । यस्तै शुक्रबारदेखि लागू देशव्यापी ‘कफ्र्यू’ समेत हटेको छ । सर्वोच्च अदालतले विद्यार्थीको पक्षमा घोषणा गर्दै आरक्षण व्यवस्था हटाएसँगै स्थिति साम्यतर्फ गइरहेको छ ।नेपाल र बङ्गलादेश लामो समयदेखि विद्युत् खरिद बिक्री सम्झौता गर्न चाहिरहेका छन् । बङ्गलादेश यतिबेला विद्युत्मा भारतसँग मात्रै निर्भर छ । यो निर्भरतालाई केहीहदसम्म कम गर्ने योजना बङ्गलादेशको छ । यस्तै नेपालले समेत आफ्नो सबै विद्युत् भारतीय बजारमा बिक्री गर्दै आइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर