पासाङल्हामु सडक खण्ड भासिँदा यातायात सञ्चालनमा अवरोध

काठमाडौं । पासाङल्हामु सडक खण्डअन्तर्गत उत्तरगया गाँउपालिका-५ बनुवा घुम्तीमा पहिरो गई सडक भासिँदा यातायात सञ्चालनमा अवरोध उत्पन्न भएको छ । अविरल वर्षाका कारण आएको पहिरोले सडकको आधा भाग पूरै झरेको र तल रहेको बस्तीलाई समेत जोखिम पुर्‍याएकाले थप क्षति नहोस भन्नका लागि सडकमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाएको रसुवाका प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले बताए ।

साँघुरो बाटो भएकाले एकातर्फी साना सवारीसाधन सञ्चालन गरिए पनि ठूला मालबहाक सवारी साधनहरुका लागि भने वैकल्पिक बाटोको पहिचान गरी यात्रा गर्न हुन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारीखनालले बताए । दुई वर्षअघि सोही स्थानमा पहिरो जाँदा उत्तरगया गाउँपालिका–५ नौबिसेमा रहेका १७ घर र बनुवा घुम्तीमा रहेका ८ घर परिवारलाई क्षति पुगेको थियो भने लामो समयसम्म सडक अवरुद्ध भएको थियो । यसैबीच रसुवागढी नाका हुँदै जलविद्युत आयोजनाका सामग्रीसँगै अन्य निर्माण सामग्री सडकको क्षमताभन्दा बढी वजनका गाडी आउन थालेपछि उक्त राजमार्ग भासिन थालेको स्थानीय जनताको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर