बागमतीमा कांग्रेसका बहादुरसिंह लामा मुख्यमन्त्री बन्दै

काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेस–नेकपा एमालेबीच मन्त्रालय भागबण्डा टुंगिएपछि कांग्रेसका नेता बहादुरसिंह लामाले मुख्यमन्त्रीमा दावी पेश गर्दैछन् । बागमतीमामाओवादी नेता शालिकराम जम्कट्टेल नेतृत्वमा रहेको सरकार ढलेसँगै नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख यादवराज शर्माले संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्रीमा दावी पेश गर्न आज साउन ७ गते साँझ ५ बजेसम्मको समय दिएका छन् । प्रदेशमा एमालेका २७ र कांग्रेसका ३७ गरी ६४ सांसदको हस्ताक्षरसहित लामाले मुख्यमन्त्रीको दाबी पेस गर्ने गर्ने तयारी गरेका छन् ।

बागमती प्रदेशमा कांग्रेस र एमालेबीच कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ मन्त्रालय लिने सहमति भएको छ । हिजो सोमबार मन्त्रालय भागबण्डासम्बन्धी कुरा नमिल्दा मुख्यमन्त्रीमा लामाको दावी पेश गर्ने प्रक्रिया रोकिएको थियो ।

कांग्रेसले मुख्यमन्त्रीसँगै यसअघि माओवादीले सम्हालेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालयसहित संस्कृति, पर्यटन तथा सहकारी, युवा तथा खेलकुद र श्रम रोजगार तथा यातायात मन्त्रालय लिने सहमति बनेको बताइएको छ । यस्तै एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय लिनेछ ।

एमालेले ६ मन्त्रीको नाम टुंगो लगायो

नेकपा एमालले बागमती प्रदेश सरकारमा सहभागी हुने ६ मन्त्रीको नाम टुंगो लगाएको छ । एमालेले काठमाडौंका प्रकाश श्रेष्ठ र अमन मास्के, ललितपुरका प्रेम भक्त महर्जन, भक्तपुरका किरण थापा मगर, चितवनका कृष्ण सिलवाल र सिन्धुलीकी सुकमाया तामाङलाई मन्त्री बनाउन लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर