आजको सदनमा वर्षमानको आपत्ति र प्रधानमन्त्रीको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको रोस्ट्रमबाट बोलिरहेको समयमा नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले आपत्ति प्रकट गरेका छन् । विद्युत् प्राधिकरणको ट्रंक लाइन र डेडिकेटेड लाइनको महसुलसम्बन्धी विषयमा ओलीले बोलिरहेको बेला वर्षमानले आपत्ति उठाएका हुन् ।
ओलीले प्रधानमन्त्री मन परेन भन्दैमा झुटो कुरा नबोल्न आग्रह गरिरहेको बीचैमा पुन आफ्नो स्थानबाट उठेका हुन् । ‘सम्माननीय प्रधानमन्त्री कुन सन्दर्भमा बोल्दै हुनुहुन्छ ? सभामुखले रुलिङ गर्नुपर्छ,’ पुनले भने । ​पुनले माओवादी कार्यकर्तालाई गाली गरेको आरोप लगाए । ओलीले गाली नगरौं भनेर भनिरहेको स्पष्ट पारे ।
त्यसपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीलाई विषय केन्द्रित भएर अगाडि बढ्न अनुरोध गरे । सभामुखको निर्देश अनुसार प्रधानमन्त्री ओलीले भने, “सभामुख महोदय म विषय केन्द्रित नै छु । लिखित प्रश्नको जवाफ दिनुपर्ने, बाटैमा प्रश्न आयो । मैले गाली–गलौज कसैलाई गरेको छैन । आवेश र उत्तेजनामा आउनु पर्ने कारण छैन’, ओलीले भने ।
प्रश्नोत्तर अघि शून्य समयमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले विद्युत महसुल सम्बन्धमा ओलीले आइतबार संसद्को रोस्ट्रमबाट झुट कुरा गरेको आरोप लगाएका थिए । त्यसको जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘संसद्‌मा बोल्दा भएका, सही र तथ्ययुक्त कुरा बोल्ने गरौं । राजनीति फरक होला, पार्टी फरक होला । झुटको सहारा नलिऔं । मैले हिजो बोल्दा विद्युत् महसुल ट्रंक लाइनसम्बन्धी, तिर्न भनिएका र तिर्न नपर्ने भनेर तर्क गरिरहेका व्यवसायी र प्राधिकरणको विवाद बसेर समाधानको कुरा गरौं भनेको थिएँ । प्रयोग नगरेको महसुल तिर्न पर्दैन भनेको हो, सरकारले असुल्ने रकम असुल्छ भनेको थिएँ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर