एमाले-कांग्रेस गठबन्धन देशको अवस्था बदल्न र निराशा चिर्न आएको हो : नेता ज्ञवाली

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले दुईपटकसम्म संशोधित संविधानमा अब फेरि आवश्यक संशोधन भएको खण्डमा माओवादी भनेजस्तो गरी कसरी पच्छगमन हुन सक्छ ? भन्ने प्रश्न गरेका छन् । रफत सञ्चार क्लब भक्तपुरले आज शनिबार आयोजना गरेको सञ्चार–संवाद कार्यक्रममा उनले माओवादीलगायत अन्य राजनीतिक दलको सहयोग र समर्थनमा दुईपटकसम्म संविधानमा संशोधन गर्दा पच्छगमन नहुने अहिले संविधानमा आवश्यक संशोधन गर्ने प्रयत्न गर्दा पच्छगमन हुने भयो भनेर भाष्य निर्माण गर्नु केवल राजनीतिक प्रचारबाजीबाहेक अन्य केही होइन भन्ने टिप्पणी गरे ।

उपमहासचिव ज्ञवालीले कांग्रेस र एमालेको नयाँ सत्ता समीकरण प्रधानमन्त्री बन्न वा सरकार फेर्नका लागि मात्रै नभई मुलुकको समग्र विकास र जनतामा विद्यमान निराशा चिर्न दृढ राजनीतिक शक्ति बोकेर आएको बताए ।

उनले मुलुकको आर्थिक विकासका लागि निजीक्षेत्रलाई विश्वासमा लिएर उद्यमशीलताको विकास गर्न सरकार लागिपरेको र त्यसैअनुरूप सरकारले निर्माण व्यवसायीहरूको बाँकी रहेको भुक्तानी प्रक्रिया सुरु गरि सकेको जानकारी दिए । ज्ञवालीले सहकारीका सम्बन्धमा संसदीय छानबिन समिति बनेको समितिले प्रतिवेदन दिएपश्चात समस्या समाधान गर्न सरकार पछि नपर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

उनले भने, “सहकारी घोटालामा नेकपा एमालेलाई लाञ्छना लगाउनु दुर्भाग्य भएको र एमाले यो कुरामा विश्वास गर्दछ कि जुन औंलामा विष लागेको हो त्यहीं औंला मात्रै झर्नु पर्दछ ।”

उपमहासचिव ज्ञवालीले वर्तमान सरकारको वैधानिकता भनेको नेपालको संविधानको धारा ७२ को उपधारा (२) नै भएको र उपधारा (२) मा उल्लिखित प्रावधान कुनै व्यक्तिविशेषलाई मात्र आकर्षित हुन्छ भनेर तर्क गर्नु गैरसंवैधानिक भएको टिप्पणी गरे । उनले माओवादीलगायत अन्य विपक्षी दलले संविधानको धारा ७२ को उपधारा दुईको गलत व्याख्या गरेर विषयान्तर गर्ने चालबाजी मात्र भएको पनि बताए ।

उनले भुटानी शरणार्थी प्रकरणमा एमालेले तत्कालीन सरकारलाई पूर्णतया सहयोग गर्नका लागि आफ्ना सांसद एवं पार्टी उपाध्यक्ष टोपबहादुर रायमाझीलाई निलम्बन गरेर कानूनी शासनलाई बल पुर्‍याएको स्मरण गराए ।

उनले माओवादी अहिले अलिकति आवेगमा देखिएको चर्चा ग र्दै उनले माओवादीलाई आत्मसमीक्षा गरे राजनीति गर्न आग्रह गरे । ज्ञवालीले निरंकुश तन्त्र फ्याँक्न जन्मेका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिल्नु कुनै आकस्मिक र नाटकीय मोड नभएको प्रस्ट पारे ।

ज्ञवालीले नयाँ सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण, उद्यमशीलताको विकास, कृषिमा रूपान्तरण, भूमि समस्या समाधान, सामाजिक सुरक्षा र राष्ट्रिय हितमा काम गर्न जरुरी भएकाले एमालेले हिजो मात्रै पार्टीको तर्फबाट ९९ बुँदै सुझाव पत्र सरकारलाई बुझाएको उल्लेख गरे ।

उनले कांग्रेस-एमाले गठबन्धन बन्नुको पछाडिको कारणहरूबारे प्रकाश पार्दै भने, “माओवादी अध्यक्ष प्रचण्डले आफूसँग जादूयी संख्या भएको र त्यसैका आधारमा अस्थिर र विकृत राजनीतिक अभ्यास गर्नुभयो, त्यसको शिकार मुलुकको अर्थतन्त्र, युवाशक्ति बाहिरिनु र राजनीतिक अराजकताबाहेक अन्य केही हुन सकेन, यस्तो परिस्थितिमा स्थिर र जनतामा रहेको निराशालाई चिर्न कांग्रेस-एमाले मिलेको हो । अहिले मुलुकमा राजनीतिक स्थिरता र व्यवसायीवर्गमा गिर्दै गएको मनोबल बिस्तारै माथि उठ्न थालेको छ । लोकतन्त्र अंकगणितले मात्र जोगिने होइन, लोकतन्त्रले जनतालाई सही र ठीक ढंगले डेलिभर पनि दिन सक्नुपर्छ । यो समीकरण केवल सरकार फेर्न वा प्रधानमन्त्री बन्न मात्र नभएर देशको सामाजिक, आर्थिक र राजनीतिक अवस्था बदल्न आएको हो । नयाँ सरकार बन्नासाथ अहिले पुँजीबजारमा सकारात्मक असर परेको देख्न थालेको र बिस्तारै समाजको हरेक अंगमा सकारात्मकताको सन्देश बिस्तार हुँदै जाने विश्वास गर्न सकिन्छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर