बेपत्ता बस खोज्न भारतीय उद्धारक घटनास्थलतर्फ जाँदै

काठमाडौं । सिमलतालमा गएको पहिरोबाट त्रिशूली नदीमा बेपत्ता दुई वटा बस र यात्रुको खोजी गर्न भारतबाट १२ जनाको टोली शुक्रबार राति नेपाल आइपुगेको छ । रूपन्देहीको बेलहिया हुँदै चार वटा गाडीसहित राष्ट्रिय विपद प्रतिकार्य फोर्स भारतका विज्ञसहित टोली नेपाल आएको हो । टोलीले उद्धार कार्यमा प्रयोग हुने उपकरण पनि ल्याएका छन् । गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयको समन्वयमा भारतका ती टोली राती १२ बजे बेलहिया नाका हुँदै नेपाल आएको हो । खोजीका लागि नेपालले भारतको सहयोग मागेको थियो । गृह मन्त्रालयको विपद् महाशाखा प्रमुख डा. भीष्मकुमार भुसालका अनुसार ती टोली आजै घटनास्थल पुगेर खोजीकार्य गर्नेछन् ।

उनीहरुले उद्धारका लागि चाहिने डोरी, पानीभित्र प्रयोग हुने सञ्चार यन्त्र, कम्प्रेसर मेसिन सेट, लाइफ ज्याकेट, टेन्ट, पानीभित्रको डिभाइडर, रेन कोटलगायतका आवश्यक सामग्री र उपकरण लिएर आएको भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले बताए । सिमलताल दुर्घटनाको आज आठौं दिन भएको छ । विभिन्न ठाउँमा गरी अहिलेसम्म २३ वटा शव भेटिएको छ । दुई वटा बसमा ६५ जना सवार रहेकोमा तीन जना सकुशल फेला परेका थिए । अझै ३९ जना यात्रु र बसको अवस्था अज्ञात रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर