ट्रम्पका आलोचक उपराष्ट्रपतिको उम्मेदवारमा छनोट

काठमाडौं ।  अमेरिकी राष्ट्रपतिका लागि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले जेम्स डेभिड (जेडी) भान्सलाई उपराष्ट्रपतिको उम्मेदवार छानेका छन्। ओहायोका सिनेटर जेम्सले ट्रम्पलाई अमेरिकाका हिटलर भन्ने गरेका छन्। अमेरिकी राष्ट्रपतिका लागि चुनाव लड्ने उम्मेदवारले आफूले चाहेको व्यक्तिलाई उपराष्ट्रपति बनाउन पाउँछ। तर उपराष्ट्रपति छान्दा निर्वाचनअघि नै छान्नुपर्छ। राष्ट्रपतीय उम्मेदवारले निर्वाचन जिते उनका उपराष्ट्रपति उम्मेदवार स्वतः निर्वाचित हुन्छन्।

राष्ट्रपतीय उम्मेदवारले प्राय आफूसँग काम गर्न सजिलो हुने खालका व्यक्तिलाई उपराष्ट्रपति छान्छन्। उपराष्ट्रपतिका लागि जनताले मतदान नगर्ने भए पनि आफ्नो प्रभाव कम भएको समुदाय वा वर्गको भोट आकर्षण गर्न सक्नेलाई चयन गर्छन्। ट्रम्पले भने आफूजस्तै चरम दक्षिणपन्थी र अमेरिकी स्वार्थलाई मात्रै सर्वोपरी ठान्ने भान्सलाई छानेका छन्। राष्ट्रपतिले दिएको विभिन्न जिम्मेवारी बहन गर्नेबाहेक अमेरिकामा उपराष्ट्रपतिको खासै भूमिका हुँदैन। तर राष्ट्रपति काम गर्न नसक्ने भए वा निधन भएमा उपराष्ट्रपति नै बाँकी कार्यकाल राष्ट्रपति बन्ने प्रावधान छ। त्यसैले उपराष्ट्रपतिको महत्व हुन्छ।

हाल ७८ वर्षीय ट्रम्पले चुनाव जिते र उनलाई त्यसपछि केही भयो भने ३९ वर्षीय भान्स राष्ट्रपति बन्नेछन्। विभिन्न फौजदारी अभियोग खेपिरहेका ट्रम्प केही गरी चुनाव जितिसकेपछि जेल जानु पर्ने फैसला भए पनि भान्स नै राष्ट्रपति बन्नेछन्। अमेरिकामा राष्ट्रपतिले कार्यकाल पूरा गरे पनि अर्को निर्वाचनमा त्यति बेलाका उपराष्ट्रपति आफ्नो दलबाट राष्ट्रपतीय उम्मेदवारको होडमा अघि हुन्छन्।

अमेरिकामा दुई कार्यकाल (आठ वर्ष) राष्ट्रपति बन्न पाइन्छ। यस्तोमा उपराष्ट्रपतिको आठ वर्षपछि मात्रै राष्ट्रपतीय उम्मेदवार बन्ने पालो आउँछ।ट्रम्प भने सन् २०१६ मा निर्वाचन जितेर एक कार्यकाल राष्ट्रपति बनिसकेकाले यसपालि पनि उनले जितेमा भान्सले आठ वर्ष पर्खिनु पर्दैन। चार वर्षपछि नै राष्ट्रपतिका लागि आफ्नो दलभित्रको होडमा अघि हुनेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर