साउने सङ्क्रान्ति पर्व स्नान, दान र धार्मिक कर्म गरेर मनाइँदै

काठमाडौं । आज साउने सङ्क्रान्ति पर्व स्नान, दान र धार्मिक कर्म गरेर मनाइँदैछ । सौरमास अनुसार साउन १ गतेदेखि सूर्यले मिथुन राशिको भोग पूरागरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन भएकाले यसलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ । साउनदेखि सूर्य दक्षिण हुँदै हिड्ने भएकाले आजैदेखि दक्षिणायन पनि सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाउने गरिन्छ । अधिकांश नेपाली असार महिना खेतीमा व्यस्त हुँदा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोगको उपचारका लागि साउन १ गते लुतो फाल्ने गरिन्छ ।

एक महिनाभरी काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो समेत गर्छन् । परम्पराअनुसार कागभलायो, कुकुरडाइनो, लुते झार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फ्याक्ने चलन पनि छ ।

लुतो फाल्दा आ–आफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाउने महिनाका रुपमा पनि लिइन्छ । महिलाले साउन महिनामा हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने प्रचलन पनि छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर