प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नेता ओलीलाई आज आइतबार अपराह्न प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वास गुमाएसँगै राष्ट्रपतिले शुक्रबार बहुमतीय सरकार गठनका लागि प्रधानमन्त्रीमा दावी पेश आह्वान गरेका थिए । एमाले र नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि ओलीको मात्र दावी पेश भएको थियो । प्रधानमन्त्री ओलोलीको भोलि सोमबार बिहान ११ बजे शपथको कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

एमालेका अध्यक्षसमेत रहेका ओली चौथोपल्ट प्रधानमन्त्रीका रूपमा सिंहदरबार प्रवेश गर्दै छन् । असार १७ गते राति भएको सात बुँदे सहमतिले कांग्रेस–एमालेबीच छैठौं सत्ता सहकार्यको ढोका खोलेसँगै ओलीले प्रधानमन्त्रीका रूपमा मुलुकको कार्यकारी नेतृत्व सम्हाल्न लागेका हुन् । अध्यक्ष ओली यसअघि २०७२, २०७४ र २०७८ सालमा गरी तीन पटक प्रधानमन्त्री भइसकेका छन् ।
२०७१ साउन १ मा भएको नेकपा एमालेको नवौं राष्ट्रिय मधिवेशनबाट तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाललाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित ओली २०७८ मङ्सिर १० गते चितवनमा भएको दशौँ राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित भए । बाबु मोहनप्रसाद ओली र आमा मधु ओलीको पुत्रको रूपमा विसं २००८ साल फागुन ११ गते तेह्रथुमको इवा गाउँमा उनको जन्म भएको थियो ।

विक्रम संवत् २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएको थियो । विसं २०२८ सालको झापा आन्दोलनका प्रमुखहरु मध्येका एक उनी त्यही वर्ष जेल परे । ओली तत्कालीन नेकपा (माले) को संस्थापक मध्येका एक हुन् । पञ्चायती व्यवस्थाविरुद्धको सङ्घर्षका क्रममा ओली २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन यापन गरेका थिए । २०४४ मा जेलमुक्त भएपछि उनी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी(लेनिनवादी) को केन्द्रीय समिति सदस्य र २०५४ सम्म लुम्बिनी अञ्चलको इन्चार्ज थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर