बेपत्ता बस र यात्रु पत्ता लगाउन धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल

काठमाडौं । गृहसचिव एकनारायण अर्यालले त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको बताएका छन् । भरतपुरको सिमलताल पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजीको प्रगतिबारे जानकारी लिन उच्च सुरक्षा अधिकारीसहित सिमलताल आएका अर्यालले थप प्रविधिबारे दातृ निकाय र विभिन्न देशका दूतावाससँग कुरा भइरहेको जानकारी दिए ।
उनले बेपत्ताको खोजी गर्न सरकारले प्रविधिसहितका पाँच सय सुरक्षाकर्मी र गोताखोर परिचालन गरिएको बताए । “यातायात व्यवसायीसँगसमेत छलफल गरेर खोजीलाई कसरी तदारुकता दिन सकिन्छ भनेर लागेका छौँ,” उनले भने, “अहिलेसम्म पाँचवटा शव फेला परिसकेको छ ।”
उनले पानीको सतह घट्दै गएपछि आधुनिक उपकरण प्रयोग गरेर खोजीलाई तीव्रता दिइने बताए । सचिव अर्यालसहित प्रहरी महाननिरीक्षक वसन्त कुँवरलगायतको सुरक्षा टोलीले आजै दुर्घटनास्थलको स्थलगत निरीक्षण गरेका छन् ।
यही असार २८ गते बिहान ३ः३० बजेको समयमा भरतपुर महानगरपालिका–२९ नारायगढ–मुग्लिन सडकखण्डको सिमलतालमा वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नंको एञ्जल डिलक्स र काठमाडौैंबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख००१ नंको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका थिए । नदीमा बेपत्ता ६५ यात्रुमध्ये अहिलेसम्म पाँचजनाको मात्र शव फेला परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर