त्रिशूली नदी बस दुर्घटनाका एक यात्रीको पहिचान खुलेको पुष्टि

काठमाडौं ।  चितवनको भरतपुर–२८ स्थित नारायण नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ। नेपाल प्रहरीको बागमती प्रदेशका डीआईजी विष्णु केसीका अनुसार उक्त शव गणपति डिलक्सका यात्रुको हो। नदी किनारमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। शवको साथमा केही कागजात पनि भेटिएको छ। प्राप्त कागजातको आधारमा उनी  भारतीय नागरिक ऋषि पल साह रहेको खुलेको प्रहरीको भनाइ छ।

काठमाडौँबाट रौतहटको गौरतर्फ आउने क्रममा पहिरोमा परेर बेपता भएको गणपति डिलक्समा २९ जना सवार यात्रु रहेका थिए। बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बस त्रिशूलीमा खस्दा बसमा सवारमध्ये नन्दन दास, सुरजप्रसाद गुप्ता र जगेश्वर यादव बसबाट हाम फालेर नदीबाट बाहिर आएका थिए। चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरो खस्दा दुई वटा डिलक्स गाडी त्रिशूलीमा खसेका छन्। नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र गणपति डिलक्स नदीमा खसेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर