यस्तो रहेछ, ओलीको प्रचण्डप्रतिको मोह भंगको राम कहानी….

नेकपा माओवादी केन्द्रसँगको सहकार्य बीचैमा तोडेर नेपाली कांग्रेसँग गठबन्धन बनाउनुको कारणबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधवार पार्टी नेताहरूलाई औपचारिक जानकारी दिएका छन्।

एमाले अध्यक्ष ओलीले भारत भ्रमणबाट फर्किएपछि प्रचण्डले सत्ता सहकार्यका लागि कांग्रेससँग कुरा गरिरहेको थाहा पाएपछि माओवादीसँगको गठबन्धन भङ्ग गरेको जानकारी दिएको एमालेका एक उपमहासचिवले बताए। ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार बनाउने सहमति गरेसँगै एमाले-माओवादी गठबन्धन धरापमा परेको थियो। माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले भने गठबन्धन भङ्ग हुनुमा एमाले दोषी रहेको बताउँदै आएका छन्।

एमाले सचिवालयको बैठकमा पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले एमाले-माओवादी गठबन्धन टुट्नुको कारण नेताहरूलाई सुनाएका थिए। “फागुनमा प्रचण्डसँगको गठबन्धन बनाइरहँदा एक किसिमले हामीले खाली चेकमा हस्ताक्षर गरेर दिएको हो। न त हामीले कुनै सर्त राख्यौँ, न मन्त्रालयको वरीयताक्रमबारे कुनै कुरा गर्‍यौँ,” ओलीको भनाइ उद्धृत गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बीबीसी न्यूज नेपालीसँग भने। “रोजेका तपाईँहरू लिनुहोस्, छाडेका हामीलाई दिनुहोस् भनेको हो।” राष्ट्रियसभा अध्यक्ष उम्मेदवारको विषयमा मतभेद भएपछि प्रचण्डले गत फागुनमा कांग्रेससँगको गठबन्धन भत्काएर एमालेसँग सत्ता साझेदारी गरेका थिए। “यो चार महिनासम्म कहीँ कतै पनि केही अप्ठ्यारो नगरी सजिलोसँग अघि बढ्न उहाँलाई दिएका थियौँ,” एमाले उपमहासचिव ज्ञवालीले ओलीको ब्रीफिङबारे भने। “यही राजनीतिक कोर्स अघि बढ्दै गयो भने ८४ सालको चुनावमा केन्द्रित हुनुपर्छ भन्नेमा मनोवैज्ञानिक रूपमा हामी तयार थियौँ।”

भारतबाट फर्किएपछि प्रचण्ड ‘फेरिए’

नरेन्द्र मोदीले भारतको प्रधानमन्त्रीका रूपमा तेस्रो कार्यकालका लागि शपथग्रहण गर्न आयोजित कार्यक्रममा सहभागी हुन प्रचण्ड जेठ अन्तिममा दिल्ली गएका थिए। प्रचण्डले नेपाल फर्किएपछि कांग्रेससँग सहकार्यका लागि पहल थालेको ओलीको आरोप थियो।

“तर थाहा छैन अब के स्थिति बन्यो! भारतबाट फर्किसकेपछि उहाँ अचानक राष्ट्रिय सहमतिको सरकारको चर्चा सुरु गर्नुभयो। सबभन्दा पहिला उहाँले काङ्ग्रेससँग यसका लागि कुरा गर्नुभयो। कांग्रेसले उहाँहरूलाई विश्वास गरेन र प्रधानमन्त्रीले गरिरहेको कुराबारे कांग्रेसबाट हामीले थाहा पायौँ,” बैठकमा ओलीको भनाइ उद्धृत गर्दै ज्ञवालीले भने। “प्रधानमन्त्री स्वयंले नै सरकारको विकल्प खोज्न थालेपछि त राष्ट्रिय राजनीति अर्को दिशामा जाने भइहाल्यो।”

पुस १० दोहोर्‍याउन खोजेको आरोप

ओलीले प्रचण्डले कांग्रेसलाई पनि सरकारमा ल्याएर राजनीतिलाई २०७९ पुस १० कै जस्तो अवस्थामा पुर्‍याउन खोजेको आरोप लगाएका छन्। “उहाँहरूको योजना चाहिँ ठ्याक्कै गत साल पुसमा जस्तै गर्ने देखियो,” ज्ञवालीले भने। “यो पटक पनि उहाँको योजना त्यही रहेको बुझियो। कांग्रेस पनि उहाँहरूको धोकाधडीबाट आजित नै भएको र हामीले पनि अब यसले समाधान नदिने भयो भनेपछि हामी नयाँ कोर्समा गएका हौँ।” संसदीय निर्वाचनपछि पहिलो सरकारको प्रधानमन्त्री बन्ने क्रममा २०७९ पुसमा प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए। लगत्तै संसद्‌बाट विश्वासको मत लिने क्रममा प्रचण्डले कांग्रेसको पनि समर्थन जुटाए। केही महिनालगत्तै राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई माओवादीले समर्थन गरेपछि त्यस बेला एमाले र माओवादीको गठबन्धन केही महिनामै भत्किएको थियो। एमालेको बैठकपछि पत्रकारका प्रश्नको उत्तर दिँदै ज्ञवालीले कांग्रेस र एमालेबीच भएको सहमति उपयुक्त समयमा सार्वजनिक गरिने प्रतिक्रिया दिए।

‘मन्त्रीबारे छलफल भएन’

एमाले सचिवालयको बैठकले केपी शर्मा ओलीले नेतृत्व गर्ने भनिएको आगामी सरकारमा पठाउने मन्त्रीहरूबारे पनि छलफल गर्ने भनिए पनि बुधवारको बैठकमा त्यसबारे छलफल नभएको नेताहरूले बताएका छन्। मन्त्री छनोटको मापदण्डबारे अर्को बैठकमा मात्रै छलफल हुने ज्ञवालीले जानकारी दिए। सचिवालय बैठकपछि पत्रकारहरूको प्रश्नमा एमाले उपमहासचिव ज्ञवालीले अबको सरकार पनि संविधानको धारा ७६ को उपधारा २ अनुसार बन्ने बताए। कतिपयले धारा ७६ को उपधारा ३ अन्तर्गत मात्रै अबको सरकार बन्ने तर्क गर्दै आएका छन्। त्यसरी सरकार बन्दा संसद्‌को सबैभन्दा ठूलो दलको प्रमुखलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने व्यवस्था छ। “संविधान र हाम्रा अभ्यासहरू अस्पष्ट छैनन्। यो कसैले जानीजानी फैलाउन खोजेको भ्रम मात्रै हो,”  यस्तै अवस्थामा धारा ७६ को उपधारा २ अन्तर्गत नै सङ्घ र प्रदेशमा पनि यसअघि सरकार बनेको जिकिर गर्दै ज्ञवालीले भने। (समाचार साभारः बीबीसी न्यूज नेपाली)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर