बाँकेमा चट्याङ लागेर दुई महिलाको मृत्यु
काठमाडौं । बाँकेमा चट्याङ लागेर मङ्गलबार बेलुकी धान रोपिरहेका दुई महिलाको मृत्यु भएको छ। अर्की एक महिला घाइते भएकी छिन्। राप्तिसोनारी गाउँपालिका–२ कचनापुरको हरिहरपुर गाउँमा धान रोप्ने क्रममा मङ्गलबार बेलुका ६ बजेर ३० मिनेटमा चट्याङ पर्दा गम्भीर घाइते भएकी तीन महिलामध्ये दुई महिलाको उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए ।
उनका अनुसार नेपालगन्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेमा ३२ वर्षीया सम्झना विक र ३३ वर्षीया वसन्ती उपाध्याय रहेका छन्। चट्याङ लागेर ३० वर्षीया सलिना विक गम्भीर घाइते भएकी छन् । उनको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। चट्याङ लागेर घाइते भएका तीनै जना महिलालाई प्रहरीले तत्काल उपचारका लागि कोहलपुर पुर्याएको थियो ।