मनसुनजन्य विपदबाट देशभर हालसम्म ८० जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न ठाउँमा बाढीपहिरोलगायत विपदका घटनामा परेर मनसुन शुरु भएयता अहिलेसम्म ८० जनाले ज्यान गुमाएका छन् । जेठ २८ गतेदेखि अहिलेसम्म देशका विभिन्न ठाउँमा गरी ८० जनाको ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पछिल्लो पटक रुकुमपूर्वमा पहिरोले घर पुरिँदा एक जनाको ज्यान गएको छ । तीनजना घाइते भएका छन् ।

सिस्ने गाउँपालिका–१ दल्ली गैरामा गएराति पहिरोले सल्ली बिसौनीका ११ वर्षीय सरगम बुढाको ज्यान गएको हो । उदयपुरको त्रियुगा नगरपालिका–१५ तोरीबारीमा पहिरोमा परी आठ वर्षका रुपकला मगरको ज्यान गएको छ । २ जना घाइते छन् । प्रहरी प्रधान कार्यालयका अनुसार विपद् व्यवस्थापनका लागि पाँच हजार ४१ जना प्रहरी परिचालन गरिएको छ । बाढीपहिरोले ४१ वटा पुलमा क्षति गरेको छ । कतिपय पुल बगाएको छ ।

झापामा ७६ घर डुबान

झापाका नदी तथा खोलामा आएको बाढीका कारण ७६ घर डुबानमा परेको छ, भने मेची नदीमा आएको बाढीले तटीय क्षेत्र कटान गर्दा पिलरसहितको फेन्सिङ तार नै बगाएको छ। सोमबार राति परेको अविरल वर्षाका कारण माई खोलामा आएको बाढीले झापा गाउँपालिकाका ५१ घर डुबानमा परेका छन्। गौरीगञ्ज र झापा गाउँपालिका– १ सिमाना टप्पुस्थित माई खोलामा मंगलबार बिहान अन्दाजी साढे ११ बजे आएको बाढीले झापा २ सुगाबथान बस्तीका बासिन्दा प्रभावित भएका हुन्। बस्तीमा अन्दाजी अढाई फिटसम्म पानी पसेको प्रहरीले जनाएको छ।

त्यस्तै झापा– २ को कुवाडीगाउँमा पनि घुँडा घुँडासम्म पानी जमेको थियो। त्यहाँका परिवार विस्थापित नभए पनि सहयोगका लागि सुरक्षाकर्मी तैनाथ गरिएको थियो। माई खोलाका कारण झापा– १ को मिलनबस्ती , सालमारा , लसुनगंज , सितुमारी र झापा–२ को टप्पुगाउँ, सुगाबथान , कुवाडी , हवलदार बस्ती ,बालुवाटार र सडकवारिका बासिन्दा जोखिममा रहेका छन्। त्यस्तै रतुवा खोलाको बाढीले गौरादहका २५ घर डुबानमा परेका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर