कोटीहोम महायज्ञको प्रचार–प्रसारका लागि भोलि रिक्सा र्‍यालीको आयोजना गरिने

काठमाडौं । राष्ट्र आराध्य पशुपतिनाथ मन्दिरपरिसर वनकालीमा आगामी साउन १ गतेदेखि एक महिनासम्म सञ्चालन हुने विशाल कोटीहोम महायज्ञको प्रचार–प्रसारका लागि भोलि बुधबार रिक्सा र्‍यालीको आयोजना गर्ने भएको छ । मानव सेवा फाउन्डेसनलगायत एक दर्जनभन्दा बढी संघसंस्थाको आयोजनामा सञ्चालन हुने कोटीहोम महायज्ञको प्रचारका लागि हिजो सोमबार र गत शनिबार बृहत ट्याक्सी तथा मोटरसाइकल र्‍याली कार्यक्रमको आयोजना गरिएको थियो ।

आयोजक मानव सेवा फाउण्डेसनका अनुसार भोलिको रिक्सा र्‍याली पशुपति क्षेत्रको पार्किङ प्रारम्भ हुनेछ । आयोजक संस्थाका अनुसार असार २७, २८ र २९ गते चक्रपथ पैदल यात्रा कार्यक्रमको आयोजना गरिएको छ । मानव सेवा फाउण्डेसनका अनुसार असार ३० गते बिहान ११ बजे साइकल र्‍यालीको आयोजना गरिने छ । त्यस्तै विशाल शोभा कलश यात्रा भने असार ३१ सोमबार बिहान ७ बजे आयोजना गरिने फाउण्डेसनले जनाएको छ । त्यस्तै महायज्ञको भव्य समुदघाटन साउन १ गते बिहान ११ बजेको शुभसाइतमा हुनेछ ।श्रीमद्भागवत कथा पुराण प्रवक्ता वालयोगेश्वर श्री विजय कृष्णमूर्तिका अनुसार मानव सेवा फाउन्डेसनलगायत झन्डै एक दर्जन संघसंस्थाको आयोजनामा साउनमा हुने कोटी होम महायज्ञको तयारी करिब–करिब पूरा भएको छ ।

ललितपुरको बाँडेगाउँमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको चाँगुनारायणमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण सहयोगार्थ महायज्ञ गर्न लागिएको हो । महायज्ञ अवधिभर जगद्गुरु, साधु, सन्त, महन्तका साथै ख्यातिप्राप्त कथा वाचकहरूबाट आशीर्वचन तथा कथा प्रवचन हुनेछ ।

पशुपति क्षेत्रमा आयोजना हुन लागेको नेपालकै हालसम्मको ठूलो पशुपति कोटीहोम एवं १०८ श्रीमद्भागवत कथावाचनसहितको महायज्ञमा नियमित कर्म, यज्ञ अनुष्ठानसँगै श्रीमद्भागवत कथा प्रवचन, शिव महापुराण, रामायण आदि पाठ हुनेछन् । कथा प्रवचनका लागि वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, सु–प्रसिद्ध कथा वाचिका राधिका दासी माता, देवी प्रतिभा, राम कथावाचिका चन्द्रकला सखी र श्रीमद् देवी भागवत वाचिका विदुषी डा. कान्ता भट्टराईको पनि सहभागिता रहने फाउण्डेसनले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर