राष्ट्रपति पुटिन र प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौं ।  रुसको दुई दिने भ्रमणका लागि सोमबार मस्को पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री मोदीले सोसल मिडिया प्लेटफर्म एक्सको ह्यान्डलमा भेटका केही तस्बिरहरू पोस्ट गरेका छन्।

यी तस्बिरहरूसँगै पीएम मोदीले लेखेका छन्, ‘नोभो-ओगार्योभोमा राष्ट्रपति पुटिनको आतिथ्यताका लागि कृतज्ञ। मङ्गलबार पनि हाम्रो वार्ताको प्रतीक्षा गर्दै, जुन भारत र रुसबीचको मित्रताको सम्बन्धलाई अझ मजबुत बनाउन निश्चित रूपमा उपयोगी साबित हुनेछ।’ रुसको सरकारी मिडिया स्पुतनिकले दुई नेताबीच भएको कुराकानीको भिडियो सार्वजनिक गरेको छ ।

भेटमा पुटिनले नरेन्द्र मोदीलाई तेस्रो पटक प्रधानमन्त्री बन्न सफल भएकोमा बधाई दिँदै भने, ‘मलाई लाग्छ यो संयोग होइन, यो सरकारको प्रमुखका रूपमा तपाईको धेरै वर्षको कामको परिणाम हो । तपाईंसँग आफ्नो विचार छ, तपाईं एक ऊर्जावान व्यक्ति हुनुहुन्छ, तपाईंलाई कसरी भारत र भारतका जनताको हितमा नतिजा प्राप्त गर्ने भन्ने थाहा छ। आर्थिक मोर्चामा, भारत तेस्रो ठूलो अर्थतन्त्र बन्नेमा विश्वस्त छु। जनसंख्याको हिसावमा अहिले पनि यो विश्वकै ठूलो देश हो।’

रुस र अस्ट्रियाको तीन दिने भ्रमणका क्रममा प्रधानमन्त्री मोदी सोमबार मस्को पुगेका हुन् । प्रधानमन्त्री मोदी २२औं भारत-रुस वार्षिक सम्मेलनमा सहभागी हुनेछन्। रुस पुगेपछि मोदीलाई ‘गार्ड अफ अनर’ दिइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर