कांग्रेस-एमालेबीचको सहमतिले निकास पाउने : डा. शेखर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस र एमालेबीच भएको सहमतिले अब मुलुकले निकास पाउने दाबी गरेका छन् । नेपाली कांग्रेस पर्साद्वारा बुधबार वीरगन्जमा आयोजित कार्यकर्ता भेलामा उनले कांग्रेस र एमालेबीचको सहकार्यले मुलुकलाई स्थिरता र समृद्धितर्फ अगाडि बढाउने विश्वाससमेत व्यक्त गरे ।

कोइरालाले कांग्रेस सधैँ सहमति, सहकार्य र एकताको राजनीतिमा दृढ रहेको बताए । मुलुकको राजनीति सधैँ अस्थिरता र अन्योलपूर्ण बन्दै गएको अवस्थामा मुलुकका प्रमुख राजनीतिक शक्ति मिल्नु सुखद रहेको कोइरालाको भनाइ रहेको छ । उनले नेता, कार्यकर्ताहरूले अब विगतमा भएका तिक्ततालाई छोडेर एकजुट भएर बढ्नुको विकल्प नरहेको बताए । उनले अब गठन हुने सरकार दुई तिहाइ बहुमतको बन्ने दाबी गरे । अबको सरकारले अस्थिर राजनीतिको अन्त्यको लागि संविधान संशोधन गरेर मुलुकलाई निकास दिने उनको विश्वास थियो । कार्यक्रममा कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले विगतमा राजनीतिक अस्थिरताका कारण मुलुकले समृद्धि हासिल गर्न नसकेको बताउँदै सुशासनका लागि कांग्रेस र एमाले एक्कै ठाउँमा आउनुपरेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर