भोलिसम्ममा प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिन एमालेको आग्रह

काठमाडौं । नेकपा एमालेले नेपाली कांग्रेससहित बन्न लागेको राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन सबै राजनीतिक दलहरूलाई आह्वान गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार चार घण्टाभन्दा बढीसम्म बसेको पार्टी सचिवालय बैठकले राष्ट्रिय सहमतिको सरकारमा सहभागी भई राजनीतिक स्थायित्वमा योगदान गर्न संसदमा रहेका सबै दलहरूलाई आह्वान गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
उनले भने, “प्रचण्ड नेतृत्वको सरकार निर्माणको आर्किटेक्ट नेकपा एमाले हो भन्ने कुरालाई झण्डै बिर्सिनुभएकोमा पनि हामीले बजेट पास गर्‍यौं, हामीले घोषित रूपमै अहिलेको सरकार पूरा अवधि चल्नुपर्छ भनेकोमा सरकारका केही निर्णय र प्रक्रियाका बारेमा आफूहरूको रिजर्भेसन रहेकाले परिवर्तनतर्फ जानुपरेको हो ।”
उपमहासचिव प्रदीप ज्ञवालीले कुनैपनि दललाई निषेध गर्नका लागि अहिलेको सहकार्य अघि नबढाइएको बताए। उनले प्रचण्डको नेतृत्वमा कांग्रेसले अघि जान सकिँदैन् भनेपछि आफूहरू अघि बढेको ठोकुवा गरे ।

उनले भने, “उहाँ (प्रचण्ड) आफैँले यो सरकार पर्याप्त छैन यसलाई राष्ट्रिय सहमतिमा कन्भर्ट गर्नुपर्छ भन्नुभएको थियो। तर, उहाँको नेतृत्वमा नेपाली कांग्रेस जान सक्दैन भनिसकेपछि उहाँहरूलाई यो सहकार्यमा अघि बढ्न र मुलुकको राजनीतिक स्थायित्वको लागि रचनात्मक योगदानका लागि आग्रह गर्छौं ।”

उपमहासचिव ज्ञवालीले भने, “एमाले र कांग्रेसबीच भएको सहमतिअनुरूप अब संविधानको धारा ७६ (२) को सरकार निर्माणका लागि भोलिसम्म मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आह्वान गर्ने निर्णय गरेका छौं।”

प्रधानमन्त्री दाहालले राजीनामा नदिएमा सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी छ। राजीनामा नदिएमा के गर्नुहुन्छ भन्ने प्रश्नमा ज्ञवालीले भने, “दुई ठूला दलबीच नयाँ सरकार गठन गर्ने सहमति भइसकेपछि उहाँले मार्ग प्रशस्त गर्नुहुन्छ होला। मार्ग प्रशस्त गर्नु भएन भने अर्को निर्णय गर्छौं।”

 एमालेले गरेका निर्णयहरू यी हुन्:-

१. एमाले र कांग्रेसबीच नयाँ सरकार निर्माणका लागि भएको सहमतिको अनुमोदन गर्ने ।
२. नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन अन्य दललाई आह्वान गर्ने ।
३. राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि भोलिसम्म मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई आह्वान गर्ने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर