प्रचण्डको स्पोर्टस् म्यानसिप र ओलीको मधुर मुस्कान…

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिमा स्पोर्टस् म्यानसिप स्पिरिट देखाएका छन् । कांग्रेस र एमाले मिलेर प्रधानमन्त्री पद धरापमा पार्ने जटिल, कुटिल खेलका अतिरिक्त उनले आज नेपाली कांग्रेस पार्टी सानेपामा गएर कांग्रेसका स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको शताब्दीऔं जन्मजयन्तीको अवसरमा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ नामक फोटो प्रदर्शनी अवलोकनमा सहभागी भई पोलिटिकल स्पोर्टस् म्यानसिप स्पिरिट देखाएका हुन् ।
आफू प्रधानमन्त्री पदबाट हट्ने प्रायः निश्चित भए पनि प्रचण्ड कांग्रेस कार्यालयमा गएर फोटो प्रदर्शनी अवलोकन गरे । प्रचण्डले आफ्नो पार्टीको मंगलबार बसेको पदाधिकारी बैठकमा कांग्रेस-एमाले नयाँ सत्ता समीकरणप्रति तीखो प्रतिक्रिया दिँदै भनेका थिए, “संविधानलाई नै डिरेल गर्ने हिसाबले कोसिस भइराखेको छ । भ्रष्टाचारको फाइल खोलेपछि कांग्रेस–एमालेमा त्रास देखियो । माओवादी जनयुद्धले ल्याएका उपलब्धि, सङ्घीयता, समावेशी सहभागिता, संविधान उल्ट्याएर मुलुकलाई पुरानै अवस्थामा धकेल्ने षड्यन्त्र भइरहेको छ ।”
तीखो प्रतिक्रियाका वावजुद प्रचण्डले सानेपामा कांग्रेसको तर्फबाट न्यानो स्वागत-सत्कार पाएका थिए । राजनीतिमा ३६ को आँकाडा भएपनि सानेपामा कांग्रेसका नेता र प्रचण्डको अनुहारमा मधुर मुस्कान देखिन्थ्यो । चाहे त्यो कृत्रिम नै किन नहोस् । यसैगरी नेकपा एमालेका अध्यक्ष एवं भावी प्रधानमन्त्रीका दावेदार केपी शर्मा ओली पनि सानेपामा पुगेर फोटो प्रदर्शनी अवलोकन गरेका थिए । अवलोकनका क्रममा एमाले नेता ओली र उनको स्वागतार्थ उपस्थित कांग्रेसका नेताहरूको अनुहारमा हनि स्माइलिङ (मधुर मुस्कान) देखिन्थ्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर