एमाले कांग्रेसको सरकारले मुलुकमा फड्को मार्ने : नेता बस्नेत

भक्तपुर । नेकपा एमालेका नेता तथा पोलिट व्यूरो सदस्य महेश बस्नेतले कांग्रेस–एमालेको सत्ता गठबन्धनले मुलुकलाई स्थिरतातर्फ लैजाने बताएका छन् ।
भक्तपुरमा आज मंगलबार सञ्चाचारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने, “विगतका दिनमा ३२ सिटे पार्टीका अध्यक्षले कहिले देउवा त कहिले ओलीलाई पुच्छर बनाउने खेलकै परिणाम नयाँ सत्तागठबन्धनको स्वरूप हो।”

एमाले र कांग्रेसले बहुमत नल्याँउदा माओवादीले कहिले कांग्रेस त कहिले एमालेलाई बोकेर सरकार बनाउँदा मुलुकमा कुशासन , भ्रष्टाचार, तस्करी र अनियमिततालाई संस्थागत गर्ने काम भइरहेको नेता बस्नेतले उल्लेख गरे । उनले भने, “एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिले माओवादी र कांग्रेस मिलेर बनेको सरकार ढाल्ने र अहिले एमाले र कांग्रेसको सरकार बनाउने दुईवटा मिसन सफल बनाउनु भएको छ ।”
एमाले र कांग्रेस मिलेर बनेको नयाँ सरकारले संविधान संशोधन गरेर मुुलुकमा देखिएको शासकीय प्रणलीको समस्यालाई हल गर्ने, संघ र प्रदेशमा प्रत्यक्ष निर्वाचित सांसद मात्र राख्ने व्यवस्था गर्ने र समानुपातिक प्रणालीलाई खारेज गरेर त्यसलाई राष्ट्रियसभामा व्यवस्थापन गर्ने र उपराष्ट्रपतिलाई राष्ट्रियसभाका अध्यक्ष बनाउने तथा स्थानीय तहको संख्या पनि घटाएर वडाको संख्या बढाउने गरी दुई दलबीच सहमति भएको उनले प्रष्ट पारे ।

संविधान संशोधन गर्नका लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा समिति बनाउने सहमति समेत भएको पनि उनको भनाइ छ । अब बन्ने नयाँ सरकारले अर्थतन्त्रमा सुधार हुने बताउँदै उनले अर्थमन्त्रीको जिम्मेवारी नेकपा एमालेका नेता विष्णु पौडेलले पाउने बताए । गृहमन्त्री रवि लामिछानेले स्टन्टबाजी मात्रै गरेको र आफूले नै गरेका कमीकमजोरी ढाकछोप गर्नमात्रै लागेको उनले आरोप लगाए । गृहमन्त्रालयको जिम्मेवारी भने कांग्रेसले सम्हाल्ने नेता बस्नेतले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर