मुलुकको आवश्यकताअनुसार मार्क्सवादलाई परिमार्जन गर्नुपर्ने प्रधानमन्त्रीको धारणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र र जनताको समृद्धिका लागि सबै वामपन्थी र लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको आइतबार आयोजित दशौं  राष्ट्रिय महाधिवेशनमा प्रधानमन्त्री दाहालले समाजवादी क्रान्तिको विश्लेषण गर्दै शक्ति तथा सङ्गठन विस्तारका लागि कार्यदिशा निर्माण गर्न शुभकामना दिए । भ्रष्टाचार न्यूनीकरण गर्न विभिन्न भ्रष्टाचारका फाइल अगाडि बढाउने उल्लेख गर्दै उनले भने, “केही भएको छैन भन्ने निराशावादी भाष्य गलत छ, भविष्यमुखी, राष्ट्रको समुन्नतिका लागि प्रतिबद्ध छु ।” प्रधानमन्त्री दाहालले विगतमा एउटै मोर्चामा रहँदा एकीकृत समाजवादी पार्टी र माओवादीबीच एकताबद्धको प्रयास भएको तथा नयाँ र परिमार्जित विचार महाधिवेशनले पारित गर्ने विश्वास व्यक्त गरे । मुलुकको आवश्यकताअनुसार मार्क्सवादलाई परिमार्जन गर्नुपर्ने उनको भनाइ थियो ।

गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण गर्नु आवश्यक : सभापति देउवा

यसैगरी नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण गर्नु आवश्यक रहेको बताएका छन्। नेकपा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशनमा उनले नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो स्थापना कालदेखि नै छोटो समयमा पनि नेपालको राजनीतिमा सकारात्मक महत्त्वपूर्ण निर्णायक भूमिका निर्वाह गरेको उल्लेख गरे ।


उनले नेपालको संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण र यसै संविधानमार्फत मुलुकमा दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि प्राप्त गर्नु महत्त्वपूर्ण एजेण्डा रहेको बताए । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाकाप्रति गहिरो प्रतिबद्धताका साथ नेकपा एकीकृत समाजवादीले कार्य गरिरहेको उल्लेख गरे । सभापति देउवाले नेपालको राजनीतिमा मुलुकमा शान्ति स्थापना गर्ने सवाल, संविधान निर्माण गर्ने सवालमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर