ओली-देउवा भेट : के कांग्रेस-एमाले सरकार बन्न लागेको हो ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भक्तपुरस्थित ओलीनिवास बालकोटमा शनिबार भेटवार्ता भएको छ। एमाले अध्यक्ष ओलीलाई भेट्न सभापति देउवा श्रीमती आरजु देउवा राणासहित बालकोट पुगेका थिए। भेटमा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा ३ घन्टा छलफल भएको थियो ।
ओली र देउवाबीच भेटघाटको तारतम्य मिलाउन अर्बपति सांसद विनोद चौधरीको विशेष सक्रियता रहेको बताइन्छ । चौधरी विगत सातादेखि दुई शीर्ष नेताहरूबीच राजनीतिक संवाद होस् भन्ने चाहन्थे । कांग्रेस र एमालेको संघीय सरकार बनेमा देशमा राजनीतिक स्थिरताका साथै आर्थिक विकास हुने धारणा सांसद चौधरीको रहेको छ । चौधरीकै सक्रियतामा देउवाले ओलीसँग यो साता दुई पटक एक्लाएक्लै र एकपटक पत्नी आरजु राणासहित भेटवार्ता गरेका छन् । पछिल्लो समय कांग्रेस र एमालेबीच सत्ता सहकार्यको बारेमा दुवै दलका दोस्रो तहका नेताहरुले नेतृत्वसमक्ष दबाब सिर्जना गरेका छन् ।