माधव नेपालको विश्लेषण : एमालेबाट विद्रोह समयसापेक्ष

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेबाट विद्रोह गरेर सही गरेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित ‘जनताका नेता नेपाल’ पुस्तक विमोचन कार्यक्रममा  उनले नेकपा एमालेबाट विद्रोह गर्नुको कुनै विकल्प नभएको बताए ।

एमालेबाट विद्रोह गरेर संविधान बचाएको र राजनीतिक स्थिरता कायम गरेको उनले दाबी गरे । आफूहरूले मुलुकलाई सही दिशामा अगाडि बढाउन भूमिका निर्वाह गरेको भन्दै उनले विद्रोह गरेर सही र न्यायोचित काम गरेको बताए । एमालेबाट विद्रोह नगरेको भए गल्लीमा भड्किइरहेको अवस्थामा हुने उनले अनुमान गरेका छन् ।

उनले भने, ‘विद्रोहबाहेक अर्को कुनै विकल्प थिएन । विद्रोह गरेर संविधान बचायौं हामीले । विद्रोह गरेर राजनीतिक स्थिरता कायम गर्‍यौं । विद्रोह गरेर हामीले मुलुकलाई सही दिशामा अगाडि बढाउनका लागि भूमिका निर्वाह गर्‍यौं । अत्यन्तै सही काम गर्‍यौं । कम्युनिस्ट आन्दोलनलाई जोगायौं । गलत प्रवृत्तिका विरुद्धमा जुध्यौं र आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउनका लागि फेरि पनि पार्टीलाई क्रान्तिकारीकरण गर्नका लागि नयाँ पार्टी निर्माण गर्‍यौं । नयाँ पार्टी गठन गरेर, विद्रोह गरेर न्यायोचित काम गर्‍यौं । नभए हामी हराइसकेका हुन्थ्यौं । हामीले गल्लीमा भड्किइरहनुपर्ने स्थिति बन्थ्यो । आत्मसर्मपण गर्नुपर्ने अवस्था बन्थ्यो । हामीले ती सबै कुराहरूलाई स्वीकार गरेनौं । हामीले समर्पण गरेनौं । धेरै मान्छेलाई निराश हुनबाट जोगायौैं । कम्युनिस्ट आन्दोलनलाई निरन्तरता दियौं र सिंगो देशमा हाम्रो छुट्टै उपस्थिति अहिलेसम्म देखाएका छौं । हाम्रो भूमिकालाई स्थापित गरेका छौं ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर