एसईईमा यसपालि किन धेरै फेल ? के लेटर ग्रेडिङ प्रणालीनै गलत हो ?

माध्यमिक शिक्षा परीक्षा एसईईको पछिल्लो नतिजामा सहभागी भएका आधाभन्दा बढी (५२ प्रतिशत) विद्यार्थी कक्षा ११ मा भर्ना हुनका लागि अयोग्य ठहरिएसँगै विज्ञहरूले ‘लेटर ग्रेडिङ’ प्रणालीको औचित्य सकिएको रूपमा टिप्पणी गरेका छन्।

यस पटक उत्तीर्ण हुन सैद्धान्तिकमा ३५ र प्रयोगात्मकका ४० प्रतिशत अङ्क ल्याउनैपर्ने नयाँ व्यवस्थाले गर्दा उत्तीर्ण दर घट्ने अपेक्षा नतिजा आउनुअगावैदेखि गरिएको थियो। शिक्षाविद् मनप्रसाद वाग्लेले सरकारले आफूहरूले झन्डै आठ वर्षअघि औपचारिक रूपमा दिएको सुझाव यतिखेर कार्यान्वयनमा ल्याएको बताउँछन्। “यसबीचमा गएका सात वटा ब्याचमा शिक्षक र विद्यार्थी दुवैमा निकै गलत सन्देश गएको थियो,” वाग्ले भन्छन्। “विद्यार्थीमा पढे पनि हुने, नपढे पनि हुने; शिक्षकमा पढाए पनि हुने, नपढाए पनि हुने सन्देश गएको थियो।”

‘गल्ती’ सच्याइएको हो?

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा गत वर्षसम्म ०-२० प्रतिशत अङ्क ल्याउने विद्यार्थीलाई पनि ग्रेड ‘ई’ दिएरै पठाउने गरे तापनि यस पटक नयाँ ग्रेडिङ प्रणालीमा उनीहरूलाई १० कक्षामै रोकिएको बताउँछन्। “विगतमा जसरी छाड्दा १२ कक्षामा गएर फेल हुँदा उक्त उमेर समूहमा कक्षा दोहोर्‍याउन नचाहने दर उच्च देखियो। यो तुलनात्मक रूपमा आफूलाई सुधार गर्न सक्ने उमेर समूह पनि हो।” शर्मा समग्रमा ‘नन-ग्रेडेड’ विद्यार्थीको प्रतिशत घटे तापनि ‘ग्रेडेड’ विद्यार्थीको प्रतिशत भने यस पटक बढेको बताउँछन्।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्मा पछिल्ला वर्षमा ‘नन-ग्रेडेड’ कम हुनुको अर्थ ‘धेरैजसो उनीहरू माथिल्लो कक्षामा जानका लागि योग्य भएर भन्दा पनि तल रोक्न नचाहनु रहेको’ बताउँछन्। “यस पटक तल्लो ग्रेड ल्याउनेलाई त्यहीँ रोकेर फेरि परीक्षा देऊ भन्न खोजिएको मात्र हो,” अध्यक्ष शर्मा भन्छन्। विगतमा ‘लेटर ग्रेडिङ’ सुरु गर्दा ‘त्यसै पास भइन्छ’ भन्ने सन्देश जानु ‘गल्ती भएको’ मूल्याङ्कन शर्मासहितका कैयौँ शिक्षा अधिकारीहरूको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर