यस वर्ष सबैभन्दा बढी विद्यार्थीको गणितमा नन ग्रेड

भक्तपुर ।  राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजामा यस वर्ष सबैभन्दा बढी विद्यार्थीको गणितमा नन ग्रेड (एनजी) आएको छ । गणित विषयमा एक लाख ७७ हजार नौ सय ८५ विद्यार्थीको एनजी आएको छ । यस्तै विज्ञानमा एक लाख २६ हजार नौ सय ३३ तथा अङ्ग्रेजीमा एक लाख एक हजार तीन सय ८३ विद्यार्थीको एनजी आएको बोर्डका अध्यक्ष प्रा डा महाश्रम शर्माले बताका छन् ।
आज बिहीबार एसइईको नतिजा प्रकाशन गर्दै उनले सामाजिकमा ७३ हजार आठ सय ७७, नेपालीमा ६९ हजार पाँच सय ३२, अर्थशास्त्रमा ६९ हजार चार सय १६ तथा ऐच्छिक गणितमा २० हजार तीन सय ५२ विद्यार्थीको एनजी आएको बताए । उनले दुई विषयसम्म एनजी आउने विद्यार्थीको हकमा पूरक परीक्षा आगामी साउन १८ र १९ गतेलाई तोकिएको जानकारी दिए ।
साउनमा परीक्षा गरेर भदौमा नतिजा सार्वर्जनिक गर्ने र यसैवर्ष उनीहरुले कक्षा ११ मा भर्ना हुन पाउने गरी व्यवस्था गरिएको छ । पूरक परीक्षामा पनि उत्तीर्ण हुन नसक्ने विद्यार्थीको हकमा र दुईभन्दा बढी विषयमा एनजी आएका विद्यार्थीले आउँदो नियमित परीक्षामा एनजी आएको विषयको मात्रै परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।
यस वर्षको एसइई नतिजामा गत वर्षभन्दा सुधार भएको अध्यक्ष प्रा डा शर्मा बताउँछन् । उनका अनुसार माथिल्लो जिपिए ल्याउनेको सङ्ख्या बढेसँगै नतिजा सुधार भएको हो । बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार यसवर्ष सबैभन्दा बढी अर्थात् ७८ हजार आठ सय ७४ विद्यार्थीले २ दशमलव ८० देखि ३ दशमलव २० जिपिए प्राप्त गरेका छन् । सबैभन्दा कम ६ विद्यार्थीले १ दशमलव ६० देखि २ दशमलव ० जिपिए ल्याएका छन् ।
त्यस्तै एक सय ८६ विद्यार्थीले ४ जिपिए, ३१ हजार २०९ जनाले ३ दशमलव ६० देखि ४ दशमलव ० जिपिए, ६८ हजार दुई सय ५६ जनाले ३ दशमलव २० देखि ३ दशमलव ६० जिपिए र ७८ हजार आठ सय ७४ जनाले २ दशमलव ८० देखि ३ दशमलव २० जिपिए, ४१ हजार एक सय ७७ जनाले २ दशमलव ४० देखि २ दशमलव ८० जिपिए र दुई हजार ९५० जनाले २ दशमलव ०० देखि २ दशमलव ४० जिपिए ल्याएका छन् ।

यस्तो छ प्रदेशको नतिजा

आज सार्वजनिक भएको नतिजा अनुसार यसवर्षको एसइई परीक्षामा सबैभन्दा बढी बागमती प्रदेशबाट ९९ हजार आठ सय ७२ विद्यार्थी सहभागी भएकामा ३३ हजार आठ सय ४३ जनाले ननग्रेड (एनजी) पाएका छन् ।
त्यस्तै, लुम्बिनी प्रदेशबाट ८० हजार तीन सय २७ विद्यार्थी सहभागी भएकामा ४९ हजार दुई सय २४ जनाको ननग्रेड ९एनजी० आएको छ । मधेश प्रदेशमा ७९ हजार पाँच सय ९२ विद्यार्थी सहभागी भएकामा ४२ हजार दुई सय ८६ जनाले ननग्रेड तथा कोशी प्रदेशमा ७५ हजार नौ सय ८८ जना सहभागी भएकामा ३९ हजार आठ सय ९५ जनाको ननग्रेड आएको छ ।
गण्डकी प्रदेशमा ४० हजार पाँच सय २६ विद्यार्थी सहभागी भएकामा २० हजार दुई सय ७५ जनाको ननग्रेड आएको छ भने कर्णाली प्रदेशबाट परीक्षामा ३५ हजार ३४ जना सहभागी भएकामा २० हजार तीन सय ८० जनाको ननग्रेड आएको छ । सुदूरपश्चिम प्रदेशमा भने ५३ हजार चार सय ४६ विद्यार्थी सहभागी भएकामा ३६ हजार चार सय १० जनाको ननग्रेड आएको छ । उनीहरुले पूरक परीक्षामा सहभागी हुनुपर्ने छ ।
प्रकाशित नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुनः परीक्षणसमेत गराउन सक्ने व्यवस्था छ । पुनर्योगका लागि परीक्षार्थीले आफूले पुनर्योग गर्न चाहेका विषयका लागि कार्यालयको वेवसाइटमा गई पुनर्योग फाराम भरी आवेदन दिने व्यवस्था रहेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर