डा. मुकुल ढकाल : आफ्नो रिपोर्टले आफैँलाई खाँदै ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीमा देखिएको नेतागत मतभेद कारवाहीको निष्कर्षमा पुग्न सक्ने संकेत देखिन थालेको छ । इलामको उपनिर्वाचनमा पार्टीले बेहार्नुपरेको लज्जाजनक हार (जमानत जफ्त) लगायत देशभर पार्टीप्रतिको जनधारणा बुझेर प्रतिवेदन तयार पार्ने अभिभारा पाएका पार्टीका महामन्त्री डा. मुकुल ढकालले रास्वपाप्रतिको जनताको नकारात्मक यथार्थवादी रिपोर्ट प्रस्तुत गर्दा सभापति रवि लामिछाने कोपभाजनको शिकार बन्नु परेको अवस्था आउन लागेको सोही पार्टीका तेताहरू टिप्पणी गरेका छन् ।

महामन्त्री ढकालले उपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका सभापति लामिछानेलाई बुधबार साँझ पार्टीको अवस्था निराशाजनक रहेको भन्दै प्रतिवेदन बुझाए पनि बुधबार दिउँसैदेखि सञ्चारमाध्यममा प्रतिवेदन उल्लेख गरिएका कुराहरू बाहिर आएको थियो। सोही बहानामा सभापति लामिछानेले पार्टीको गोप्य दस्तावेज प्रेसमा लिक गरेको आरोपमा ढकालमाथि अनुशासनको कारवाहीको तयारी गरिएको बताइएको छ । यससम्बन्धमा ढकालले पार्टी सभापतिका नाममा एक पत्र लेख्दै भनेका थिए, ‘यसमा मेरो पनि व्यक्तिगत राजनीतिको सवाल छ, मैले गर्दै नगरेको कामहरूलाई पनि मेरो नाममा थुपारिदिएर पार्टीभित्र घृणित राजनीति भयो,’ उनले पत्रमा लेखेका छन्, ‘मेरा कुरा के के हुन्, जनतालाई मैले कहिले भन्नै पाइनँ। नराम्रा जति मेरा, राम्रा जति सबै अरूका भए। मेरा कुरा पनि के छन्, त्यो जनताले थाहा पाउनपर्छ । मेरो पनि राजनीतिक अधिकार हो। यो प्रतिवेदन ११।३ लाख जनता जसले घण्टीमा भोट हाले, उहाँहरूले पनि थाहा पाउनुपर्छ। यो प्रतिवेदन सार्वजनिक नगरिनु ममाथि पार्टीले गरेको अन्याय हुन्छ । ममाथि न्याय गरियोस्, यो प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक गरियोस्।’

ढकालले पेश गरेको प्रतिवेदनमा पार्टी अघि बढ्नै नसक्ने अवस्थामा पुगेको र यदि यस्तै अवस्था रहे अर्को चुनावसम्म राष्ट्रिय पार्टीसमेत बन्न नसक्ने गरी दुई–तीन सिटमा खुम्चिने दाबी छ। गत जेठ ६ गतेदेखि असार ५ गतेसम्म एक महिना लगाएर ३८ जिल्ला पुगेर पार्टीको अवस्थाबारे बुझेका थिए। ‘समीक्षा यात्रा’ नाम दिइएको उक्त अभियानका क्रममा ३८ जिल्लाका २ दुई हजार ७९ जनासँग दोहोरो अन्तरसंवाद गरिएको ढकालले प्रतिवेदनमा उल्लेख गरेका छन्।

सभापति लामिछानेसँग दूरी बढिरहेका बेला प्रतिवेदन पार्टीमा नबुझाई त्यसका विषयवस्तु सार्वजनिक गरेको भन्दै पार्टीको एउटा पंक्ति उनलाई तत्कालै जिम्मेवारीबाट हटाउनुपर्ने पक्षपोषण (लविङ) मा लागेको छ।

सोही पक्षपोषणवादी समूह हावी भएमा आगामी केही समयभित्र ढकाललाई महामन्त्रीको जिममेवारीबाट मुक्त गरिएको समाचार बाहिर आएमा कुनै आश्चर्य नमाने हुन्छ भन्ने पाटीमा एकथरीको भनाइ रहेको छ । नाम उल्लेख नगर्ने शर्तमा रास्वपा एक नेताले यस्तो टिप्पणी गरे, “नेपाली राजनीतिक दलमा सत्तामा नजाँदासम्म साथी खोज्ने तर सत्तामा गइसकेपछि नोकर खोज्ने (साइको फ्यान्स) प्रवृत्ति हावी छ । सत्ताको उन्मादमा ती पार्टीका नेताहरूले विवेक गुमाउँछ, उसले कसैको पनि विवेकशील कुरा सुन्न चाहँदैन । सिर्फ एकोहोरो ढिपी गर्दछ । अन्त्यमा विनाशको बाटो रोज्न पुग्दछ । यस्तो दुष्चर प्रवृत्तिको पछिल्लो शिकार नेपाली कांग्रेस र नेकपा एमाले भइसकेको छ । रास्वपा पनि त्यही मार्गमा अग्रसर देखिन्छ ।” (उज्ज्वल झा) 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर