कोशीमा प्राकृतिक प्रकोप : २७ जनाको मृत्यु, सयौं परिवार विस्थापित, करोडौंको क्षति

काठमाडौं । कोशी प्रदेशमा मनसुन भित्रिएयता बाढी, पहिरो, डुबान र चट्याङमा परेर २४ जनाको मृत्यु भइसकेको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार १७ जनाभन्दा बढी घाइते र २ जना बेपत्ता भएको तथ्यांक रहेको छ । १ सयभन्दा बढी पशु चौपाया मरेको र आर्थिक हिसाबले करिब १० करोड बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।
प्रदेशका प्रहरीका प्रवक्ता एवं एसपी सुमनकुमार तिमल्सिनाका अनुसार मोरङमा ६, ताप्लेजुङमा ५, झापा र संखुवासभामा ४र४, इलाम र सुनसरीमा २–२, तथा ओखलढुंगामा १ जनाको मृत्यु भएको हो। बाढी, पहिरो तथा डुबानका कारण २ सय २५ परिवारका ७ सय ३८ जना विस्थापित भएको उनले बताए। एसपी तिमल्सिनाका अनुसार अनुसार ताप्लेजुङमा ७५, मोरङमा ६८, संखुवासभामा ५५ र झापामा २७ परिवार विस्थापित भएका छन्।
विस्थापित भएकालाई उद्धार गरेर सुरक्षित स्थानमा लगी विद्यालय, सामुदायिक भवनलगायतमा अस्थायी बासस्थानको व्यवस्था गरिएको उनको भनाइ छ। प्रहरीका अनुसार बाढी र पहिरोका कारण ३३ वटा घरमा पूर्ण र ४२ वटा घरमा आंशिक क्षति पुगेको छ। प्राकृतिक प्रकोपमा परेर पछिल्लो २ दिनमा मात्रै ९ जनाको मृत्यु भएको छ। बाढी र पहिरोमा परेर ६ तथा चट्याङले लागेर ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बाढीले बगाएर २ जना बेपत्ता छन्।

मोरङको रंगेली नगरपालिका-४ मा घाँगी खोलाले बगाउँदा ४५ वर्षीय नागेन मण्डलको बुधबार मृत्यु भएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार ४ जनाले एकैपटक तर्न खोज्दा बिहान १०:४५ बजेतिर नागेनलाई खोलाले बगाएको थियो। स्थानीयको सहयोग लिएर नेपाल र सशस्त्र प्रहरीले खोजी गर्दा घटनास्थलबाट १ सय ५० मिटरजति तल शव भेटिएको डीएसपी बस्नेतले बताए। नागेनसँगै रहेका अरु ३ जना सकुशल छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर