काठमाडौंमा वर्षा, यो साताभरि मनसुन सक्रिय रहने

काठमाडौं । चारदेखि पाँच दिनको अन्तरालपछि काठमाडौं उपत्यकामा आज बुधबार दिउँसो पानी परेको छ । गर्मीले आक्रान्त उपत्यकावासीले पानी परेपछि राहतको अनुभव गरेका छन् । त्यसो त काठमाडौं उपत्यकामा मंगलबार राति हल्का वर्षा भएको थियो । हिजो राति भएको वर्षाका कारण उपत्यकाको बागमती, विष्णुमती, हनुमन्ते, मनहरालगायतका नदीमा पानीको सतह बढेको छ ।
मौसम विज्ञान विभागका अनुसार हाल बागमती, कोशी र गण्डकी प्रदेशको केही स्थान तथा बाँकी प्रदेशका एकाध स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। विभागका अधिकारीहरूले दिएको जानकारीअनुसार यो साताभरि नै देशका लगभग अधिकांश स्थानमा वर्षा हुने सम्भावना छ।
विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार अहिले देशैभरिका विभिन्न खोला तथा नदीहरूमा पानीको सतह बढिरहेको छ। ती खोला तथा नदीहरू जलसतह बढ्ने क्रम यो साताभरि नै जारी रहने उसको पूर्वानुमान छ। यद्यपि हालसम्म देशका अधिकांश नदीहरूमा जलसतह अति उच्च जोखिमको अवस्थामा नपुगेको बुधवार बिहान जारी बुलेटिनमा उल्लेख गरिएको छ। महाशाखले सामाजिक सञ्जालमार्फत् सतर्कता अपनाउन सूचनाहरू जारी गरिरहेको छ। उसले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनेहरूलाई सतर्कता अपनाउन पनि आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर