भक्तपुरको दधिकोट दुई करोड नगद लुटपाट : भान्जाको घरमा मामाको कुदृष्टि

काठमाडौं । भक्तपुरको दधिकोटमा गत मंगलबारका दिन खानतलाशी लिन आएको भनी दुई करोड नगद लुटपाट गरी फरार रहेका चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौैं उपत्यका अपराध अनुसन्धान कार्यालयले डाँका चोरी तथा लुटपाट गरी फरार रहेका चार जनालाई पक्राउ गरी आज मंगलबार सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले असार ४ गते भक्तपुर सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने ३५ वर्षीय डिल्लीबहादुर राउतको घरमा अपरिचित तीन जना व्यक्तिहरू प्रवेश गरी सिबिआई हुँ भन्दै घरधनी र सदस्यहरूलाई नियन्त्रणमा लिई दराजभित्र रहेको दुई करोड रुपैयाँ डाँका चोरी तथा लुटपाट गरी फरार रहेको बताए । उक्त घटनामा संलग्न रहेका सुजन रसाइलीसहित चार जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको बताए ।

पक्राउ पर्नेमा वर्ष ३० का सिन्धुपाल्चोक बाह्रबिसे २ का सुजन रसाइली, सिन्धुपाल्चोक भोटेकोशी २ का वर्ष ३१ का भीमबहादुर तामाङ, वर्ष ३६ का ओखलढुङ्गा मानेभञ्ज्याङ ३ का मुनाराज राई र वर्ष ३८ का सिन्धुपाल्चोक भोटेकोशी २ कै कृष्णबहादुर बोहरा रहेको प्रहरीले बताएको छ । डिल्लीबहादुर राउतको मामा कुलबहादुर खत्रीलाई राउतको घरमा बढी मात्रामा रकम रहेको भन्ने जानकारी भएकोमा निज खत्रीले वैदेशिक रोजगारको काम गर्ने सिलसिलामा चिनेका सुजन रसाइलीलाई उक्त कुरा जानकारी गराइ लुट्ने योजना बनाएको पाइएको प्रहरीले बताएको छ ।

प्रहरीले निजहरूबाट ३६ लाख ३६ हजार, घटनामा प्रयोग भएको बा.प्र. ०२.०४०प. ५५३८ र बा.प्र.०२.०३३ प ६१७४ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल दुई थान, मोबाइल थान १०, लुटिएको रकम बोक्न प्रयोग गरिएको झोला थान दुई, डाँका चोरी तथा लुटपाट गर्न लगाएको कपडाहरू, डाँका चोरी तथा लुटपाट गर्दा लगाएको जुत्ता तीन जोर, खुकुरी एक थान बरामद भएको बताएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर