चाँगु नगरपालिकाको नीति तथा कार्यक्रमले खुशी र हाँसो ल्याउने नगरप्रमुख खत्रीको विश्वास

भक्तपुर । चाँगुनारायण नगरपालिकाले नगरवासीको चाहना, आवश्यकता, अपेक्षा, र प्राथमिकतालाई ध्यानमा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरपालिकाका प्रमुख जीवन खत्रीले यस आर्थिक वर्षको नीति तथा कार्यक्रमले नगरवासीको अनुहारमा खुशी र हाँसो ल्याउने विश्वास व्यक्त गरेका छन् ।
प्रमुख खत्रीले “सबल स्थानीय सरकारः समून्नत गाउँ, समुन्नत नगर भन्ने नारा र चाँगुनारायण नगरपालिकाको दीर्घकालीन सोच “कुषि, पर्यटन र सामाजिक पूर्वाधारः समृद्ध चाँगुनारायणको अधार लाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न उपलब्ध साधनस्रोतको उच्चतम प्रयोग र उपयोग, दिगो विकासका समग्र लक्ष्यको सम्बोधन। सुशासन प्रवर्द्धन, वित्तीय अनुशासन तथा रूपान्तकारी योजना कार्यान्वयन गर्ने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरिएको बताए ।

चाँगुनारायण नगरपालिकाले दिगो विकासका लक्ष्यहरूलाई स्थानीयकरण गरी प्राथमिकताका आधारमा अन्तर तह, क्षेत्रगत तथा विषयगत कार्यक्रमबीच समन्वय कायम गरिने, संघ र प्रदेशबाट विनियोजन हुने योजनाहरूको दोहारो नपर्ने गरी विकास निर्माणका कार्यलाई सञ्चालन गर्ने, सार्वजनिक स्थानमा धूमपान, मद्यपान र लागू औषध प्रयोगलाई पूर्ण बन्देज लगाउने र नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकम एवं इन्टरनेट सेवा प्रदायक संस्थासँग सहकार्य गरी अव्यवस्थित पोल एवं तारहरूको उचित व्यवस्थापन गर्ने नीति तथा कार्यक्रम ल्याएको छ ।

नगरपालिकाको नीतिमा नगरकोट भ्रमण २०८२ लाई प्रभावकारी बनाउनका लागि स्रोत र साधनको व्यवस्थापन गरिने उल्लेख छ । यस्तै बालमैत्री नगर घोषणा भएको उपत्यकाको पहिलो नगरको रूपमा पहिचान कायम गर्न सफल हुन यस नगरपालिकामा बालमैत्री गतिविधिको दिगोपना र समयसापेक्ष बनाउन स्रोत साधनको उचित प्रवन्ध मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ । चाँगुनारायण क्षेत्रभित्र रहेको घाटमा निःशुल्क रूपमा दाउरा व्यवस्थापन गर्ने, आर्थिक पारदर्शिता र वित्तीय अनुशासनलाई कडाईका साथ पालना गर्दै बरुजु नियन्त्रणलाई प्राथमिकता राखिने, व्यावहारिक, र प्राविधिक शिक्षाको लहरः ज्ञान र सीपले जगमग चाँगु नगर भन्ने नारालाई मूर्त्तरूप दिन निःशुल्क प्राथमिकता शिक्षालाई सुनिश्चित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।


यसैगरी छोरीको सुरक्षा वीवनभरिको कार्यक्रमलार्य परिमार्जन एर्व परिष्कृत गर्दै सामुदायिक विद्यालयका छात्राहरूलाई सिकाईमा उत्प्रेरित गरिने, नगरस्तरीय पुस्तकालय स्थापना गरिने, महामारी नियन्त्रण कोष स्थापना गर्ने, मातृशिशु मृत्युदर न्यून गर्न महिनाको एक पटक दक्ष स्वास्थ्यकर्मीबाट निःशुल्क घुम्ती अल्ट्रासोनोग्राफी सेवा सञ्चालन गरिने, नगरपालिकाका ४० देखि ६० वर्षसममका सम्पूर्ण महिलाका लागि स्तन क्यान्सर पहिचानका लागि म्यामोग्रामको व्यवस्था मिलाइने, चाँगुनारायण नगरपालिकालाई सडक मानव रहित बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

चाँगुनारायण नगरपालिकाको

आर्थिक वर्ष २०८/८२

को बजेट वक्तव्य

आदरणीय नगरसभाका श्रद्धेय अध्यक्षज्यू, सम्पुर्ण नगरसभा सदस्यज्यूहरु,

चाँगुनारायण नगरपालिकाको आज मिति २०८१ साल असार १० गते शुभारम्भ भएको नगरसभाको पन्धौं अधिवेशनको बैठकमा नमस्कार तथा  हार्दिक स्वागत गर्न चाहन्छु ।

नेपालमा विभिन्न कालखण्डमा राजनीतिक तथा सामाजिक/साँस्कृतिक परिवर्तन एवं संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना समेतका आन्दोलनका क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने ज्ञात अज्ञात शहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै विभिन्न राजनीतिक आन्दोलनका क्रममा घाइते भएका योद्धाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

नेपालको संविधानले निर्देश गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामार्फत् समाजवाद-उन्मूख अर्थतन्त्र निर्माण गर्दै समृद्ध नेपालः सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नका साथै चाँगुनारायण नगरपालिकाको दूरदृष्टि “कृषि, पर्यटन र सामाजिक पूर्वाधारः समृद्ध चाँगुनारायणको मूल आधार” मा आधारित भई नेपाल सरकारको सोहौं आवधिक योजनाको लक्ष्य, मध्यमकालिन खर्च संरचनाको मार्गदर्शन एवं दिगो विकासका लक्ष्यहरुलाई आत्मसात गर्दै पारित भएको चाँगुनारायण नगरपालिकाको आ.व. २०८१/८२ को नीति तथा कार्यक्रम बमोजिम आगामी आ.व. २०८१/८२ को बजेट तथा कार्यक्रम यस गरिमामय सभासमक्ष पेश गर्ने अनुमति चाहन्छु । 

चाँगुनारायण नगरपालिकाले अंगीकार गरेको नीति बमोजिम यस नगरपालिकाको वार्षिक बजेट आर्थिक विकास, सामाजिक विकास, वन तथा वातावरण, भौतिक पूर्वाधार विकास एवं संस्थागत विकास तथा सुशासनका सवालमा क्षेत्रगत रुपमा विनियोजन गर्ने व्यवस्था गरेको छु । विनियोजित बजेटबाट सञ्चालन हुने योजना तथा कार्यक्रमबाट यस नगरको आर्थिक, सामाजिक, भौतिक पूर्वाधार विकासका साथै दिगो रुपमा वातावरण व्यवस्थापन र विपद्को प्रभावकारी पूर्वतयारी तथा प्रतिकार्य एवं सामाजिक न्याय तथा सुशासन कायम हुने पूर्ण विश्वास लिएको छु ।

आदरणीय नगरसभाका अध्यक्षज्यू, सम्पुर्ण नगरसभा सदस्यज्यूहरु,

  • यस नगरपालिकामा नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान, समपुरक अनुदान, विशेष अनुदान रकम तथा नगरपालिकाको आन्तरिक श्रोतबाट संकलन हुने राजस्वबापत प्राप्त हुने अनुमानित रकमको आधारमा आगामी आ.व.मा सञ्चालन हुने कार्यक्रमहरुका लागि बजेट विनियोजन हुने व्यवस्था मिलाएको छु।
  • सर्वप्रथम यस नगरपालिकाको आन्तरिक आयको प्रमुख श्रोतका रुपमा रहेको सिफारिस दस्तूर, व्यवसाय रजिष्ट्रेशन शूल्क, पानी ठेक्का, घर-नक्सा पास दस्तूरसहितको आ.व. २०८१/८२ को लागि कूल रु. ३२ करोड ५५ लाख २० हजार प्रक्षेपित आन्तरिक आय अनुमान गरेको छु ।
  • वित्तीय समानीकरण अनुदानतर्फ संघीय सरकारबाट रु. १६ करोड ७६ लाख, राजश्व वाडँफाडबाट रु. ११ करोड २३ लाख तथा सशर्त (चालू) कार्यक्रममार्फत् रु. ३६ करोड ८१ लाख ५३ हजार र सशर्त पूँजीगततर्फ रु. ६ करोड १७ लाख प्राप्त भएको छ। त्यस्तै समपुरक अनुदानमार्फत् संघीय सरकारबाट रु. १ करोड ५० लाख र विशेष अनुदानमार्फत् रु. ४ करोड ५० लाख प्राप्त भएको छ।
  • बागमती प्रदेश सरकारबाट वित्तीय समानीकरण मार्फत् रु. १ करोड ७२ लाख ४८ हजार र सशर्त (चालू) कार्यक्रममार्फत् रु. २ करोड ३२ लाख ८५ हजार प्राप्त भएको छ। त्यस्तै समपुरक अनुदानमार्फत् प्रदेश सरकारबाट रु. ३ करोड र विशेष अनुदानमार्फत् रु. ७० लाख प्राप्त भएको छ।
  • सवारी साधनको राजस्व बाँडफाँटबाट रु. ८ करोड १३ लाख ३४ हजार र घर-जग्गा रजिष्ट्रेशनबाट रु. ६० करोड गरी कूल जम्मा रु. ६८ करोड १३ लाख ३४ हजार प्राप्त हुने अनुमान गरेको छु ।
  • नगरपालिका संचित कोषमा मौज्दात रकम रु २१ करोड ४४ लाख ९२ हजार २ सय मात्र अनुमान गरेको छु ।

आदरणीय नगरसभाका अध्यक्षज्यू एवं सदस्यज्यूहरु,

आगामी आर्थिक वर्षमा चाँगुनारायण नगरपालिकामा सञ्चालन हुने मुख्य मुख्य योजना तथा कार्यक्रमहरुका लागि देहाय बमोजिमको बजेटको व्यवस्था मिलाएको छु ।

  • आर्थिक विकास क्षेत्र तर्फ ११ करोड ५० लाख १५ हजार विनियोजन गरेको छु। बेरोजगार यूवाहरुलाई लक्षित गरी सञ्चालनमा ल्याइएको मेयर उद्यमशिलता विकास कार्यक्रमलाई केही संशोधन गरी निरन्तरता दिन रु. ३ करोड विनियोजन गरिएको छ । जसबाट थप यूवाहरुलाई उद्यम विकासमा प्रोत्साहन एवं समावेश गर्ने लक्ष्य राखिएको छ ।
  • आर्थिक विकास तथा मानव जीवनको अपरिहार्य क्षेत्र कृषिमा आधारित रोजगार प्रबर्द्धन गरी कृषि पेशालाई सम्मानजनक बनाउन तथा आधुनिकीकरण एवं व्यवसायीकरणका लागि कूल रु. १ करोड ५४ लाख ७३ हजार विनियोजन गरेको छु ।
  • उद्यमीहरुलाई प्रोत्साहनका लागि घरेलु एवं स्थानीय उत्पादनको प्रबर्द्धन र बजारीकरणलाई प्राथमिकतामा राखिनेछ । सोको लागि प्याकेजिङ्ग, लेबलिङ्ग लगायतका अन्य प्रोत्साहन कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
  • पशु विकासका लागि पशु स्वास्थ्य आहारा, नश्ल सुधार, सामुदायिक सेवा कार्यक्रम, फर्म तथा व्यवसाय सुदृढीकरण तथा पशु जाँच प्रयोगशाला स्थापनाका लागि रु. १ करोड ५८ लाख ९२ हजार   बजेट व्यवस्था गरेको छु ।
  • सामाजिक विकास क्षेत्र तर्फ ७३ करोड ५५ लाख ८० हजार ५ सय विनियोजन गरेको छु । खानेपानी तथा सरसफाइ तर्फ १० करोड ९८ लाख १० हजार विनियोजन गरेको छु ।
  • चाँगुनारायण नगर अस्पताल तथा स्वास्थ्य चौकीबाट गुणस्तरीय सेवा एवं पर्याप्त मात्रामा ‍औषधी र आवश्यक उपचार सेवाको व्यवस्थापनका लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।
  • नगरभित्रका बालबालिकाहरुको शिक्षामा गुणस्तरीयता कायम गर्दै बालिका/किशोरीहरुको विविध आयाममा सकारात्मक परिवर्तनका साथ सुरक्षित भविष्यको सुनिश्चतताका लागि कार्यान्वयनमा ल्याएको बचत खाता छोरीको, सुरक्षा जीवनभरीको कार्यक्रमका साथै प्राविधिक शिक्षालाई प्रबर्द्धन, शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षातर्फ रु. १० करोड ९८ लाख  विनियोजन गरेको छु ।
  • पूर्वाधार विकास क्षेत्र तर्फ ८८ करोड ८५ लाख ५० हजार मात्र विनियोजन गरेको छु । जसमध्ये यातायात पूर्वाधार तर्फ ६६ करोड ११ लाख , भवन आवास तथा सहरी विकास तर्फ ७ करोड ४१ लाख , सम्पदा पूर्वाधार तर्फ ६ करोड ७५ लाख र उर्जा क्षेत्र तर्फ २ करोड ८८ लाख विनियोजन गरेको छु ।
  • उज्यालो चाँगुनारायण निर्माणका लागि नगरभित्रका विभिन्न सडकमा विद्युतको व्यवस्था, बन्द रहेका सडक वत्तिहरु सञ्चालन तथा अव्यवस्थित बिजुली पोल तार व्यवस्थापनका लागि वजेट विनियोजन गरेको छु ।
  • सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ ३ करोड ३८ लाख ८९ हजार विनियोजन गरेको छु ।
  • प्राकृतिक तथा मानवीय कारणले हुनसक्ने विपद्जन्य क्षतिलाई न्यूनीकरण गर्दै सम्भावित स्थानहरुमा बाँध निर्माण, आगलागी, बाढी,पहिरोलगायत आकस्मिक रुपमा आइपर्ने जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि विपद् व्यवस्थापन कोषमा रु. ३ करोड विनियोजन गरेको छु ।
  • नगरकोट भ्रमण वर्ष २०८२ तयारीका लागि रु. १ करोड २५ लाख विनियोजन गरेको छु ।
  • अन्य प्रशासनिक तथा कार्यालय सञ्चालन तर्फ रु ३० करोड ८८ लाख ५९ हजार विनियोजन गरेको छु ।

आगामी आ.व. को लागि कूल बजेट रु. २ अर्व ८ करोड १८ लाख ९३ हजार ५ सय मध्ये पूँजीगत खर्च शीर्षकमा रु.  १ अर्व  १२ करोड १ लाख ८० हजार  जुन विनियोजित बजेटको  ५३.८१  प्रतिशत र चालू खर्चतर्फ रु.   ९६ करोड १७ लाख १३ हजार ५ सय मात्र जुन विनियोजित बजेटको   ४६.१९ प्रतिशत हो ।

श्रोतको सुनिश्चितता भएमा मात्र बजेटले अपेक्षा गरेका उपलब्धीहरु हासिल गर्न र नगरबासीहरुलाई सेवा सुविधा उपलब्ध गराउन सकिने भएकाले लक्ष्य अनुसारको राजस्व संकलन हुन आवश्यक छ । अतः म यसै बजेट वक्तव्य मार्फत चाँगुनारायण नगरपालिकाका समस्त करदाताहरुमा समयमै तोकिएको कर रकम तिरी विकास तथा सेवा सुविधाको हकदार बन्न हार्दिक अपिल गर्दछु ।

नगरबासीहरुका विकासका अनगिन्ती चाहनाहरु बीच सीमित श्रोत साधनबाट बजेट तयार गर्दा सबै चाहाना र आवश्यकताहरु एकैचोटी सम्वोधन गर्न सकिने अवस्था रहदैन । प्राथमिकता र आवश्यकताका आधारमा श्रोत साधनको उपलब्धता र सुनिश्चतालाई मध्यनजर गरी यो बजेट तथा कार्यक्रम तयार गरेको छु । आवश्यकता र चाहनाहरु क्रमिकरुपमा निरन्तर पूरा हुँदै जाने विषय हुन । अतः यस कुरालाई सकारात्मक रुपमा लिनुहुन र विकासको कार्यमा सहकार्य तथा साझेदारी गर्न म सबै नगरवासीमा हार्दिक अनुरोध गर्दछु ।

बजेट तर्जुमा संगसंगै यसको सफल कार्यान्वयन अर्को महत्वपुर्ण पाटो हो । योजना तथा कार्यक्रमहरु समयमै प्रभावकारी रुपमा संचालनमा आउन सकेमा मात्र बजेटले अपेक्षा गरेको उपलब्धी हासिल हुने भएकोले यस बजेटको समयमा नै प्रभावकारी कार्यान्वयनका लागि सम्वद्ध सबैमा म हार्दिक अनुरोध गर्दछु ।

बजेट आफैँमा तथ्यमा आधारित अनुमान हो । यसको लक्ष्य प्राप्तिका लागि हाम्रो एक्लो प्रयास मात्र सम्भव छैन। तसर्थ राजनैतिक दल, सम्पूर्ण संघसंस्था तथा नगरवासीहरुको सामुहिक प्रयासबाट मात्र यो सम्भव छ । समग्र नगरको विकासबाट समृद्धि प्राप्तिको लक्ष्यलाई ठोस रुपमा अगाडी वढाउँदै तर्जुमा भएका योजना तथा कार्यक्रमहरुलाई प्रभावकारी कार्यान्वयन गर्न सबै पक्षबाट यथोचित सहयोग हुनेछ भन्ने कुरामा म पूर्ण विश्वस्त छु । प्रस्तुत वजेट तथा कार्यक्रम तर्जुमा गर्ने प्रकृयामा प्रत्यक्ष तथा परोक्षरुपमा सहयोग पु ‘र्याउनु हुने सम्पूर्ण कार्यपालिका सदस्यज्यूहरु, नगरस्थित क्रियाशिल राजनीतिक दलहरु, आम सञ्चार जगत, नागरिक समाज, नगरबासी दाजुभाइ तथा दिदी बहिनीहरु, प्रमुख प्रशासकीय अधिकृतज्यू लगायत समग्र कर्मचारी मित्रहरुलाई धन्यवाद दिन चाहन्छु । चाँगुनारायणको विकास प्रक्रियामा सहयोग उपलब्ध गराउने नेपाल सरकार, बागमती प्रदेश सरकार, निजी क्षेत्र, दातृ निकाय, सहयोगी संघ संस्था तथा निकायहरु प्रति म चाँगुनारायण नगरपालिकाको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तररुपमा सहयोग प्राप्त हुनेछ भन्ने विश्वास गर्दछु ।

 

धन्यवाद ।

रमेश वुढाथोकी

नगर उप-प्रमुख

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर