सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं । सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा आइतबार भ्रष्टाचारको मुद्दा दायर गरेको हो । अर्यालसमेत अन्यविरुद्ध अन्तःशुल्क स्टिकर छपाइ प्रकरणमा अख्तियारले मुद्दा दर्ता प्रक्रिया अगाडि बढाएको हो । तत्कालीन सञ्चारसचिव रहेको बेला अर्यालले सो स्टिकर छपाइसम्बन्धी ठेक्का लगाउने निर्णय गरेका थिए ।

विकल पौडेल सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक भएका बेला ४३ करोड ३२ लाख अन्तःशुल्क स्टिकर छाप्नका लागि ठेक्का आह्वान गरिएको थियो । हालका मुख्यसचिव अर्याल तत्कालीन अवस्थामा सञ्चार सचिव थिए । ९ महिनामा ४३ करोड ३२ लाख स्टिकर छाप्ने भनी सुरक्षण मुद्रण केन्द्र र प्रिन्ट सेलबीच झन्डै ३८ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

विगतमा प्रतिस्टिकर ३५ पैसामा छापिने गरेकोमा ८५ पैसा प्रतिस्टिकरमा छाप्नेगरी ठेक्का लगाएर अनियमितता गरेको भन्दै उजुरी परेपछि अख्तियारले छानबिन गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेलगत्तै मुख्यसचिव डा। बैकुण्ठ अर्याल निलम्बित हुने कानुनी व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर