सेनाको गण सारेर भरतपुर विमानस्थल विस्तार गरिने

काठमाडौं ।  भरतपुर विमानस्थल विस्तार तथा स्तरोन्नतिको काम गर्न त्यति सहज थिएन । विमानस्थल विस्तार गर्न नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरण गर्नुपर्ने हुन्छ । तर उक्त स्थानान्तरण गर्ने कुरामा सेनाको समेत राय सुझाव लिनुपर्ने भएकाले विमानस्थल विस्तारको कुरामा ढिलाई भएको थियो । सरकारले विमानस्थलको स्तरोन्नतिका लागि नजिकै रहेको नेपाली सेनाको गणलाई स्थानान्तरण गर्न वैकल्पिक स्थानको खोजी गर्ने निर्णय गरिसकेको छ । जग्गा उपलब्ध गराउने जिम्मेवारी स्थानीय निकायलाई दिइएको छ ।

यस विषयमा प्रतिवेदन तयार गर्न पर्यटन मन्त्रालयले सह–सचिव वुद्धिसागर लामिछानेको संयोजकत्वमा समिति बनाएको थियो । लामो प्रयासपछि २०८० माघ १८ गतेको मन्त्रिपरिषद्को वैठकले विमानस्थल विस्तार गर्ने निर्णय गरेको हो ।  सरकारले आगामी आर्थिक वर्षको बजेटमा पनि समावेश गरेपछि अब भरतपुर विमानस्थल विस्तार हुने आशा पलाएको छ । भरतपुर विमानस्थल विस्तार र स्तरोन्नतिका लागि रु चार अर्ब ५० करोडभन्दा बढी लगानी हुनेछ । बन्दै गरेको टर्मिनल भवन सम्पन्न गर्न रु दुई अर्बभन्दा बढी खर्च हुनेछ ।

नेपाली सेनाको घोडा प्रजनन केन्द्र स्थानान्तरण, धावन मार्ग विस्तार लगायतमा अरु रु दुई अर्ब ५० करोडभन्दा बढी खर्च गरेर सुविधासम्पन्न विमानस्थल बनाउने योजना छ । भरत विमानस्थलका अनुसार अहिले विमानस्थल विस्तार अति आवश्यक छ । धावन मार्ग छोटो हुँदा निकै जहाज उडान गर्न जोखिमपूर्ण छ । चितवन र छिमेकी जिल्लाका लागि यो सधैँका लागि महत्वपूर्ण आयोजना भएको बताउँदै भरतपुर विमानस्थलले सेनाको संरचनाका कारण मात्रै विस्तार र स्तरोन्नतिमा ढिलाई भएको बताएको हो ।

श्री एअरको ८० सिट क्षमताको जहाजको बिहीबार विमानस्थलमा परीक्षण उडान गरिएको थियो । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आगामी साउनमा विमानस्थल विस्तारका लागि बोलपत्र आह्वान हुने जानकारी दिए । ढिलोमा सन् २०२५ जनवरीसम्ममा विस्तारको काम थालिसक्ने उनले बताए ।

विस्तारपछि भरतपुरमा रात्रिकालीन उडान सुरु हुने उल्लेख गर्दै अधिकारीले चौबिसै घण्टा जहाज अवतरण गर्न सकिने बताए । उनले विमानस्थलको स्तरोन्नतिपछि बुद्ध, यती लगायतका एअरलाइन्सका एटिआर–७२ जहाजहरु पनि सहजै अवतरण गर्न सक्ने बताए । हाल एक हजार दुई सय मिटर लामो धावनमार्ग रहेको भरतपुर विमानस्थललाई नेपाली सेनाको घोडा प्रजनन केन्द्रसम्म विस्तार गरेर एक हजार आठ सय मिटर लामो बनाउने लक्ष्य छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर