पार्टी स्थापना दिवसमा रवि लामिछानेको भावनात्मक तर ठोस सन्देश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको उद्देश्य स्पष्ट भए पनि भिरको बाटोमा सिस्नु समाउँदै हिँडिरहेको बताएका छन् । पार्टी स्थापना भएको दुई वर्ष पुगेको अवसरमा शुभकामना दिँदै उनले आफूहरुको उद्देश्य र गन्तव्य स्पष्ट रहेको उल्लेख गरे ।

उनको सन्देश यस्तो छ, “गन्तव्य स्पष्ट छ । कुरा बाटोको हो । बाटोमा त कहिले पहिरो जान्छ, कहिले ढुङ्गा खस्छ । आम नागरिक एवं रास्वपा परिवारका तमाम सदस्य शुभचिन्तकहरुको आशा र अपेक्षासहितका अग्ला अग्ला पहाडहरु काँधमा बोकेर हामी अहिले भिरको बाटोमा सिस्नु समाउँदै हिँडिरहेका छौं । कैयौं कठिनाइहरुलाई नचिरी एउटा पार्टी स्थापित हुन सक्दैन । विश्वास गर्ने एकदुई जनामात्र हुँदा त हिँड्ने आँट गरियो भने आज त हामीसँग लाखौंलाख शुभेच्छुकहरु हुनुहुन्छ। २ वर्षअघि हामीलाई विश्लेषण गर्न त परको कुरा, अस्तित्वमा समेत नरहने ठोकुवा गर्ने कैयौं विश्लेषकहरु आज रास्वपा खस्कँदो छ भन्ने विश्लेषणवाला आर्टिकलको ड्राफ्ट लेख्दै होलान्, कोही टक शोमा बोल्न घाँटी र टाइ मिलाउँदै होलान् । तर, हामी हाम्रो यात्रामा अविचलित छौं । २१ सांसदले एक वर्षमा सिङ्गो सदनको ध्यान तान्यौं, ४ मन्त्रीले सिङ्गो देशको ध्यान तान्दैछौं । घण्टी सिंहदरबार पस्यो, यो देशको मतपत्रमा सदाका लागि घण्टी चुनाव चिन्ह बस्यो । बाँकी काम हामी गर्छौं, तपाईंहरु न चिन्ता लिनुस् न त पिर गर्नुस् । यो प्रश्न आइसक्यो र यो प्रश्न छ भनेर सार्वजनिक स्वीकारोक्ति गर्दै हामीले हामीमा केही परिवर्तन गरी अघि बढेनौं भने हाम्रा गाह्रा दिन सुरु भए । पार्टी जोगाउने हो, नेपाली जनताको आशा भरोसा जगाइराख्ने हो भने हामीले उच्च सचेतनासहित जोखिम लिएरै भए पनि केही बोल्ड निर्णय गरेर जानपर्छ । मलाई विश्वास छ, हामी त्यस्तो निर्णय गर्न अलिकति पनि हच्किदैनौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर