मेलम्चीको पानी निरन्तर : मुहानमा हाइअलर्ट

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले बर्खायामलाई दृष्टिगत गर्दै मेलम्ची मुहानमा हाइअलर्ट रूपमा कर्मचारी खटाएर काठमाडौंमा पानी सप्लाई भइरहेको जनाएको छ ।

मेलम्चीको पानी शुक्रबारदेखि बन्द हुने समाचार बाहिर आइरहँदा मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रत्न लामिछानेले पानीको बहाव र जोखिमलाई ध्यानमा राखेर पानी सप्लाई भइरहेको जानकारी दिए । खडेरीका समयमा काठमाडौंमा पानीको आपूर्तिलाई सहज बनाउन एक घण्टा पानी छोड्दा पनि एक हजार ट्याङ्कलाई पुग्ने पानी जम्मा हुनेहुँदा तत्काल मेलम्चीको मूलद्वार बन्द नहुने कार्यकारी निर्देशक लामिछानेले बताए ।

मनसुन अवधिमा विपत्तिको जोखिम बढ्नेहुँदा २४ सै घण्टा कर्मचारी हाइअलर्ट खटाइएको बताउँदै उनले पानीको बहाव बढ्ने वित्तिकै जतिबेला पनि मूलद्धारलाई बन्द गरिने बताए । मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्समा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि पनि वर्षायाम सुरु भएपछि सरकारले आयोजना बन्द गर्ने र वर्षा सकिएपछि खोल्ने गर्दै आइरहेको छ ।

लामिछानेका अनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकावासीलाई वितरण गरिने भनिएकामा हाल आयोजनाबाट दैनिक २० करोड लिटर हाराहारीमा पानी वितरण भइरहेको छ । गत ३१ जेठ गते आयोजना बन्द गर्ने सरकारले निर्णय गरेको थियो । नेपालका मनसुन भित्रिए पनि पूर्वी भू–भागमा मात्रै सक्रिय भए पनि वाग्मतीमा ठूलो पानी नपरेपछि तत्कालका लागि आयोजना बन्द गर्न आवश्यक नरहेको भन्दै खुला राखिएको थियो ।
दुई वर्षअघि मेलम्ची खोलामा आएको बाढीसँगै आयोजनामा बाढी पस्दा करिब रु दुई अर्बबराबरको क्षति भएको गृह मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । गत साउन २८ र २९ गते बाढीले पुनः आयोजनाको संरचनामा क्षति पुगेको थियो । मनसुन सकिएपछि मेलम्ची खानेपानीको पुनःवितरण गरिने भनिएकामा गत माघ १ गतेदेखि मात्रै मेलम्चीको पानी उपत्यका पठाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर