गर्मीका कारण ९२२ हज यात्रीको मृत्यु

काठमाडौं । साउदी अरेबियाको मक्कामा जुन १२ देखि जुन १९ सम्म गर्मीका कारण ९२२ हज यात्रीको मृत्यु भएको छ । एपीएफको रिपोर्टका अनुसार साउदी अरबमा हज यात्राको क्रममा इजिप्टका मात्र ६०० भन्दा बढीको मृत्यु भएको छ । ठुलो संख्यामा हज यात्रीहरु अहिले पनि बेपत्ता रहेको मिडिया रिपोर्टमा बताइएको छ । तर साउदी अरबले अहिलेसम्म मृत्यु र बेपत्ता हुने आधिकारिक रुपमा कुनै आँकडा जारी भने गरेको छैन । गत वर्ष  हज यात्राको क्रममा मृत्यु हुनेको संख्या २४० थियो ।

जुन १७ मा मक्काको ग्रान्ड मस्जिदमा ५१.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो । रिपोर्टका अनुसार मृत्यु हुनेमा इजिप्टपछि जोर्डन, इरान, इन्डोनेसिया र सेनेगलका हज यात्रीहरु रहेका छन् । साउदी कूटनीतिज्ञले बताए  अनुसार अधिकांश मृत्यु गर्मीका कारण बिरामी परेका कारण भएको हो । साउदी अरेबियाका अधिकारीहरुका अनुसार मक्कामा जलवायु परिवर्तनको गहिरो असर परिरहेको छ । यहाँको औसत तापक्रम हरेक १० वर्षमा ०.४ डिग्री सेल्सियसले बढिरहेको छ । अघिल्लो वर्ष २४० हज यात्रीको मृत्यु भएको थियो । तीमध्ये अधिकांश इन्डोनेसियाका थिए । साउदीले सबै यात्रुलाई छाता प्रयोग गर्न सल्लाह दिएको छ । यस बाहेक उनीहरुलाई लगातार पानी पिउन र घामबाट बच्न भनिएको छ ।

यद्यपि, माउन्ट अराफातमा पूजासहित अधिकांश हज अनुष्ठानहरू दिनको समयमा गरिन्छ । यसका लागि हजयात्रीहरूले लामो समय बाहिर घाममा बस्नुपर्ने हुन्छ । हजका क्रममा सडक छेउमा विरामी यात्री देख्ने गरेको हज यात्रीहरुले बताएका छन् । धेरैको ज्यान गएको छ । हज रुटमा एम्बुलेन्सको भीड लाग्ने गरेको छ । यस वर्ष करिब १८ लाख हज यात्री हजका लागि पुगेका छन् । जसमध्ये १६ लाख अन्य देशका छन् । हरेक वर्ष हजारौं तीर्थयात्री हज गर्न जाने गर्छन् जससँग भिसा छैन। पैसाको अभावमा यस्ता यात्री गलत बाटो भएर मक्का पुग्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर