सहकारीका कर्मचारीमाथि गोली हान्ने व्यक्ति पक्राउ

काठमाडौं ।  रौतहटमा सहकारीका कर्मचारीलाई गोली प्रहार गरेर लुटपाटको प्रयास गरेको समूहका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। भारतको चर्चित आपराधिक समूह बाबा ग्याङका मोनुकुमार जैसवाललाई पक्राउ गरेको रौतहटकी प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताइन्। २०८१ जेठ २२ गते बिहान सवा १० बजेतिर रौतहटको मौलापुर नगरपालिका ६ पथरा बुधराम सडक खण्डमा माँ बचत तथा ऋण सहकारी संस्थामा कलेक्सनको काम गर्ने २४ वर्षीय अरबिन्द कुमार दासमाथी गोली प्रहार भएको थियो।

सहकारीको संकलन गरेको रकम राष्ट्रिय बाणिज्य बैंकमा जम्मा गर्न जाँदै गर्दा उनीमाथि गोली प्रहार भएको थियो। तर गोली लागे पनि उनी सामान्य घाइते मात्रै भएका थिए। मोटरसाइकलमा रहेका उनीमाथि आक्रमण भएपछि उनी मोटरसाइकलमै बाणिज्य बैंकमा पुगेका थिए। बैंकमा पुगेर उनले घटना बारे सुनाएपछि अनुसन्धानका क्रममा उनीमाथि गोली प्रहार भएको पुष्टि भएको थियो।

गोली प्रहारपछि अज्ञात समूह फरार भएको थियो। घटनाको दुई सातापछि भारत बिहार राज्य मोतिहारी जिल्ला पूर्वी चम्पारण थाना घोडासहन ग्रामपंचायत बसवरिया २ का २० वर्षीय मोनु कुमार जैसवाल पक्राउ परेका हुन्। उनलाई रौतहटबाटै पक्राउ गरिएको डीएसपी गिरीले जानकारी दिएकी छन्। गोली प्रहारको घटनामा तीन जनाको समूहको संलग्नता देखिएको छ। तर अन्य दुई जना भने भारतमै अर्को घटनामा संलग्न भएपछि पक्राउ परिसकेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर