पनौतीमा १४ सय वर्ष पुरानो कामोत्तेजक हिले जात्रा

काठमाडौं । काभ्रेपलाञ्चोकको ऐतिहासिक पनौती नगरमा एक हजार चार सय २० वर्षदेखि मनाइँदै आएको हिले जात्रामा सामेल हुनैपर्ने परम्परागत तथ्य रहेको छ । त्रयोदशीदेखि पूर्णिमाको रात रहुञ्जेल मनाइने हिलेजात्रा सकिएको भोलिपल्टैदेखि खेतको काम थाल्ने यहाँको प्रचलन हो ।

“जेष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपु-याउनेले कहिल्यै सुख पाउँदैन”, स्थानीय बूढापाकाको भनाइमा हिले जात्रामा सामेल हुनैपर्ने मान्यता रहेको छ । त्रयोदशीको तीन दिनअघि आज पनौतीको ऐतिहासिक क्षेत्रमा अवस्थित भैरवनाथ, भद्रकाली, इन्द्रेश्वरी र व्रह्मायणी मातालाई मन्दिरको आशनबाट केही तल सारेपछि औपचारिक रुपमा जात्रा सुरु भएको मानिन्छ । विशेषरुपमा यस वर्ष असार ६ गते अर्थात् बिहीबारदेखि शुक्रबारसम्म धुमधामका साथ मनाइन्छ ।

स्थानीयले भैरवनाथ र भद्रकालीको रथ बनाउँछन् भने मन्दिरहरुमा तोरण र झल्लरसहित बत्ती तथा रङ्गाउने राख्ने काम भइरहेको छ । जात्रा सकेर खेतमा रोपाइँ सुरु गर्ने परम्परा पहिल्यैदेखि चलिआएकाले यसलाई हिले जात्रा नेवारी भाषामा ज्याःपुन्हीसमेत भनिएको पाइन्छ । जात्रा सकिएको चार दिनदेखि पनौतीमा हावाहुरी चल्छ, अनि वर्षा सुरु हुन्छ । यहाँको जनविश्वासअनुसार जात्राको अन्तिम दिन पनि बर्षा हुनैपर्छ । प्रत्येक वर्ष यस्तै हुँदै आएको यहाँका स्थानीयसँग अनुभव पनि छ ।

किंवदन्तीअनुसार परापूर्वकालमा यसै समयमा पनौती पारीपट्टीका व्रह्मायणी र भद्रकालीको पूजा गर्न जान समस्या परेपछि ललितपुरको बुङ्गमतीबाट वासुकी नाग पनौती आएर पुण्यमाताको उर्लंदो बाढीमा पुलजस्तै तेर्सो परी देवतालाई तार्ने काम गरेका थिए । त्यसैको स्मरणमा जात्रा सुरु गरिएको मानिँदै आएको स्थानीय समाजसेवी तुयुकाजी ताम्राकार बताउँछन् । उनका अनुसार करिब पचास मिटर चौडा पुण्यमाता खोलामा हरेक वर्षको त्रयोदशीका दिन नागको प्रतीकका रुपमा दुईवटा बाँस तेर्स्याइने र देवगण एक घण्टा लगाएर तर्ने गर्छन् ।

तीन दिनसम्म मनाइने यो जात्रालाई स्थानीय पर्वमध्येको निकै ठूलो जात्राका रुपमा लिने गरिएको छ । जात्रा मनाउने क्रममा त्रयोदशीका दिन खोला तर्ने काम सकिएपछि चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठ मन्दिरमा धुमधामहित पूजाअर्चना गरिने स्थानीय वृद्ध विकुनारायण ताम्राकारले बताए । उनका अनुसार इन्द्रेश्वर महादेव मन्दिरको पूर्वस्थित गणेशको मूर्तिलाई खटमा राखी अबीरजात्रा गरी नगर परिक्रमा गराइन्छ । जात्राको तेस्रोअर्थात् पूर्णिमाको दिन सबेरै बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीनवटा रथको भागदौड गराउने गरिन्छ । यही क्रियाकलापलाई जात्राको मुख्य आकर्षणका रुपमा लिँदै युवायुवतीको सहभागिता उत्साहजनक रहने गर्दछ ।

स्थानीय वृद्धवृद्धाको भनाइमा पूर्णिमाको दिन भद्रकालीले ६४ योगिनीको एउटै रुपधारण गरी कामोत्तेजक भई महादेवलाई लखेट्छिन् । महादेव भने त्रिवेणीमा हामफली लुक्छन् तर त्यहाँ पनि भद्रकालीले नछाडेपछि महादेवले उन्मत्त भैरवको रुपधारण गरी भद्रकालीलाई भगाउँछन् ।

भाग्ने र पिछा गर्ने कार्यका रुपमा रथ जुधाइने गरिएको मानिन्छ । रथ जुधाइसँगै अबीरजात्रा पनि हुन्छ । लखेट्दै गएर भैरवले चौतर्फी घेराबाट भद्रकालीलाई बीचमा पारेपछि पछाडिबाट ठक्कर दिन्छन् भने अगाडिबाट आएका इन्द्रेश्वर महादेवले पनि अगाडिबाटै धकेल्छन् । सोही क्रममा व्रह्मायणी भने शान्त स्वभाव प्रस्तुत हुन्छिन् । धार्मिक विश्लेषणका आधारमा रथ जुधाउने परम्परालाई यौनिकसम्बन्ध प्रस्तुतिका रुपमा लिइएको हो । रथ जुधाउँदा जोश झनै बढ्ने भएकाले युवायुवती रथ जुधाउन तँछाडमछाड गर्छन् ।

इन्द्रेश्वर मन्दिरका पुजारी रमेश जङ्गमका अनुसार रथ जुधाइमा कामोत्तेजक कार्य प्रदर्शन गर्नुपर्ने भएकाले पहिलेपहिले झिसमिसे अगावै रथ जुधाइने गरिएको थियो । विशेषतः काम–क्रीडासँग सरोकार राख्ने जात्रा भएकाले मध्यरातदेखि झिसमिसेको बीचमा समापन गर्नुपर्ने मान्यता रहिआएको थियो तर, पछिल्ला केही वर्षदेखि देवतारुपी रथलाई ठूलो सहभागितामा दिउँसो जुधाउने गरिएको छ । स्थानीय मुख्य पर्व जनाउँदै जात्राको अन्तिम दिन नगरपालिकाले सार्वजनिक बिदासमेत दिने गरेको छ ।

जात्राको परम्पराअनुसार विशेष पूजामा सामग्री, सुकुण्डा बोकेर कर्माचार्य (आचाजू) हरु सुस्तरी हिँड्नुपर्छ । यो परम्परालाई नेवारी भाषामा न्ह्यायकेगू भन्ने भनिन्छ । कर्माचार्य खोलापारि गोरखनाथ पुगेपछि नाग आशनबाट उठ्ने भएकाले ती नागराजाको कृपाले पानी र रोपाइँ सफल हुने जनविश्वास छ । कुनै वर्ष कारणवश जात्रा रोकेमा पनौतीमा ठूलो अनिष्ट हुने, खडेरीले दुःख दिनेजस्ता परम्परागत विश्वास मनमा पाल्ने भएकाले जात्रालाई निरन्तरता दिएको विश्वास गरिँदै आएको छ ।

अर्को रोचक प्रसङ्ग जात्रामा चिउरी र केरा खाएर घुम किन्नुपर्ने मान्यता छ । यसपछि यी सामग्रीको बिक्री सुरु हुने पनि जनविश्वास छ । जात्रामा चिउरी चपाएर जिब्रो पड्काउँदै युवायुवती हौसिएका देखिन्छन् । स्थानीयले जात्रा अवत्रिभर आफ्ना पाहुना बोलाइ स्वागत सत्कारकासाथ भोज गर्छन् । भोजका लागि प्रत्येक घरमा बलि दिने प्रथा अझै कायम रहेको छ ।

किंवदन्तीअनुसार राजा प्रताप मल्लले विसं १२७ मा रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख छ । तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पुण्यमाता (लीलावती) र रोशी खोला (रुद्रावती) बाहेक पद्मावती नदी गुप्तरुपमा व्रह्मायणी मन्दिरको मुनिबाट दूध बगिरहेको मान्यता रहेको छ ।।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर