तीन महिला कामदारको मृत्युपछि कावासोती नगरपालिकामा तोडफोड

काठमाडौं । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा नालामा पुरिएर ३ जना कामदार महिलाको मृत्यु भएपछि आक्रोशित प्रदर्शनकारीले तोडफोड गरेका छन् ।
कावासोतीको फलफूल चोकमा निर्माणाधीन नालाको माटोले बिहीबार पुरिएर ३ जना कामदार महिलाको मृत्यु भएको थियो । दुर्घटनामा कावासोती नगरपालिका ५ की सेती राना, तानमाया गाहा र चमेली सिंजालीको मृत्यु भएको थियो ।
मृतकहरुको शव मध्यबिन्दु अस्पतालमा राखिएको छ । वर्षा लागेपछि काम सुरु गरेको, नगरपालिकाले उचित अनुगमन नगरेको तथा कार्यस्थलमा मजदुरको सुरक्षामा उचित ध्यान नदिएको भन्दै स्थानीयले बिहीबार राति नै नगरप्रमुख विष्णुप्रसाद भुषालको घर घेराउ गरेर नाराबाजी गरेका थिए । झण्डै २ सय जना स्थानीयले नगरपालिका बाहिर नाराबाजी गर्दै ढुंगा तथा इँटा प्रहार गरेका थिए । स्थानीयको आक्रमणका कारण नगरपालिका भवनको पूर्वतर्फको झ्यालढोका फुटेका छन् ।

कावासोती नगरपालिकाको शुक्रबार बसेको कार्यपालिकाको आकस्मिक बैठकले मृतक महिलाको शोकमा आज बिदा दिने निर्णय गरेको छ । मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिने प्रतिबद्धता पनि नगरपालिकाले गरेको छ । नगरपालिकाले ढल निकासका लागि वैशाख ३० गते सम्झौता गरेर उपभोक्ता समितिमार्फत कावासोतीको थाना चोकदेखि पूर्वतर्फ ढल निकासको काम अगाडि बढाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर