पूर्वमा मनसुनको असर : ३ घर पहिरोले बगायो, सडक अवरुद्ध

काठमाडौं । सङ्खुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ । गएराति अबिरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका तीन घर बगाएको छ भने एक जना घाइते भएका छन् । कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । पहिरोमा परेर मणिप्रसाद राई घाइते भएको उनले बताए ।

पहिरोले घर बगाएर विस्थापित भएपछि उनीहरु छिमेकीको घरमा आश्रय लिएर बसिरहनुभएको निमित्त प्रहरी प्रमुख लामिछानेले बताए । उनका अनुसार पहिरोबाट जिल्लाका विभिन्न ठाउँमा नौ घर विस्थापित भएका छन् । यसैगरी ताप्लेजुङमा बुधबार राति वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिकाका विभिन्न ठाउँमा पुल बगाएको छ । बाढीले चार ठाउँमा पुल बगाएपछि तमोर करिडोरअन्तर्गतको सदरमुकाम फुङलिङबाट तापेथोक–लेलेप जोड्ने सडक अवरुद्ध भएको हो ।

बाढीले फक्ताङलुङ गाउँपालिकामा पर्ने सिसवा खोला, तावा खोला र सिस्ने खोलामा रहेका पुल बगाएको स्थानीय सुसन लिम्बूले जानकारी दिए । तावा खोलामा रहेको बेलिब्रिज र काठबाट निर्मित मोटरेवल पुल बाढीले बाढीले बगाएको हो । सो स्थानमा बुधबार रातभर वर्षा भएको थियो ।

बाढीले पुल बगाएपछि फक्ताङलुङ गाउँपालिकाको केन्द्र रहेको तापेथोकसहितका क्षेत्रमा सडक अवरुद्ध भएको छ । त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । सिसावा खोलामा आज बिहान आएको बाढीले तमोर नदी केहीबेर थुनिएको थियो । अहिले नदीको पानी निकास भइरहेको छ । सो क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पानी थुनिएकोभन्दा तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । ताप्लेजुङमा अधिकांस क्षेत्रमा बुधबार रातभर वर्षा भएको थियो । वर्षाले जिल्लाका नदी तथा खोलामा पानीको बहाव बढेको छ । केही ठाउँमा पहिराले अलैँचीसहितका बालीनालीमा क्षति पुगेको स्थानीयले बताएका छन् । (तस्बिरः प्रतीकात्मक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर