कांग्रेस-रास्वपाको संसदमा संयुक्त संकल्प प्रस्ताव

काठमाडौं । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले चक्रपथको कलङ्की–चाबहिल सडकखण्ड निर्माण सम्पन्न माग गर्दै संसदमा सङ्कल्प प्रस्ताव दर्ता गरेका छन् ।

नेपाली कांग्रेसको तर्फबाट काठमाडौँ क्षेत्र नं ५ बाट निर्वाचित सांसद प्रदीप पौडेल प्रस्तावक तथा कांग्रेस सांसदहरु गगनकुमार थापा, प्रतिमा गौतम, सन्तोष चालिसे, राजेन्द्रकुमार केसी, सपना राजभण्डारी, अम्बिका बस्नेत र रास्वपाका सांसद शिशिर खनाल, गणेश पराजुली र सोविता गौतमले संसद्मा सार्वजनिक महत्वको सङ्कल्प प्रस्ताव दर्ता गरेका हुन् । काठमाडौँबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने कांग्रेस र रास्वपाका सांसदले सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई सार्वजनिक महत्वको सङ्कल्प प्रस्ताव बुझाएका हुन् । नेपाल र चीन सरकारबीच चक्रपथको कलङ्की–चाबहिल सडकखण्ड निर्माण गर्ने सहमति भएको थियो ।

दुवै सरकारबीच भएको समझदारीअनुरूप विस्तार कार्य हुने वा नहुने अन्यौलता हटाई चक्रपथ विस्तारको कार्यलाई सुनिश्चित गर्न, अस्तव्यस्त सडक र आसपासको वातावरणीय प्रदूषण कम गर्न, सवारीसाधन आवतजावत तथा ट्राफिक व्यवस्थापन गर्न सङ्कल्प प्रस्तावमा माग गरिएको कांग्रेस सांसद पौडेलले बताए । आम नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न र सहरी सुन्दरताको पुनरावृत्ति गर्न चक्रपथ कलङ्की धोबीखोला–चाबहिल विस्तार अविलम्ब सञ्चालन गर्नुपर्ने आवश्यकतालाई सम्बोधन गर्न आग्रह गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर