मौसम : काठमाडौंको तापक्रम उच्च रहने, मनसुन भित्रन अझै केही दिन लाग्ने

काठमाडौं ।  हाल देशको पूर्वी भागमा मनसुनी प्रणाली तथा बाँकी भू-भागमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ । कोशी, मधेस प्रदेश र वाग्मती प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुनेछ भने बाँकी भागमा  मौसम  सफा छ । कोशी प्रदेशका  केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार काठमाडौँ उपत्यकामा स्थानीय वायुको प्रभावले आज अपराह्नतिर केही स्थानमा छिटपुट वर्षा हुने सम्भावना छ । यद्यपि तापक्रम उच्च नै रहने छ ।  मनसुन भित्रन अझै केही दिन लाग्नेछ । शनिबारदेखि यहाँ आंशिक बदली हुनेछ । यहाँको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ ।

आज दिउँसो कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागका अनुसार आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम  सफा रहने छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी र मधेस प्रदेशका तराईका केही स्थानहरुमा हुरी चल्ने सम्भावना रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर