अवरुद्ध पूर्व-पश्चिम राजमार्ग हेटौंडा खण्ड खुलाउने प्रयास जारी

काठमाडौं ।  मकवानपुरको मनहरि गाउँपालिका वडा नम्बर ९ रजैयामा शुक्रबार भएको सवारी दुर्घटनामा प्रहरीले सवारी धनीलाई सम्पर्कमा नल्याएको भन्दै स्थानीयले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ९ एचआइडीमा स्थानीयले बिहान ८ बजेदेखि सडक अवरुद्ध पारेका हुन् । गत शुक्रबार चितवनबाट हेटौडातर्फ आउँदै गरेको ए एस २५ डी सी ०२१२ नम्बरको भारतीय ग्यास बुलेटले हेटौंडाबाट पोखरा जाँदै गरेको ग ७ प २३०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाईकलमा पछाडि बस्नु भएकी हेटौँडा–८ की निर्मला अधिकारीको मृत्यु भएको थियो ।

प्रहरीले हालसम्म पनि ग्यास बुलेटधनीलाई सम्पर्कमा नल्याएको भन्दै मृतकका आफन्तले राजमार्ग बन्द गरेका हुन् । सम्बन्धित सवारी धनी वा प्रतिनिधि झिकाएर बार्ता गर्नुपर्ने आफन्तको माग रहेको छ । बुलेटधनी सम्पर्कमा आएर उचित क्षतिपूर्ति नदिएसम्म मृतकको अन्तिम संस्कार नगर्ने आफन्तले अडान लिएका छन् । मृतक अधिकारीको शव हेटौंडा अस्पतालको शवगृहमा राखिएको छ । ग्यास बुलेट चालक भारत बिहार राज्य पटियार थाना सदियान सुदमि बस्ने ३७ वर्षीय मनिन्द्र कुमार दासलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले अवरुद्ध सडक सुचारु गराउन प्रयास गरिरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर