आइसीसी टी-२० विश्वकपमा आज चार खेल खेलिँदै

काठमाडौं । अमेरिका तथा वेस्ट इन्डीजमा जारी आइसीसी टी२० विश्वकपमा आज शनिवार चार खेल खेलिँदैछ । आजको पहिलो खेल समुह सी अन्तर्गत अफगानिस्तान र न्यूजील्याण्डबीच जारी छ ।

गुयनास्थित प्रोभिडेन्स स्टेडियममा जारी यो खेलमा अफगानिस्तानले टस हारेर पहिला ब्याटिङ गर्दै न्यूजील्याण्डलाई १६० रनको लक्ष्य दिएको छ । यो खेलमा अफगानिस्तानका ओपनर रहमतुल्लाह गुरबाजले सर्वाधिक ८० रन बनाए भने इब्राहिम जर्दानले ४४ रनको योगदान दिए ।
अजमतुल्लाह ओमार्जाइले २२ रन बनाएको यो खेलमा अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । न्यूजील्याण्डका लागि ट्रेन्ट बोल्ट तथा म्याट हेन्रीले समान दुई विकेट लिए भने लकी फग्र्यूसनले एक विकेट लिए ।

उता, अमेरिकाको डालासमा बिहान ६ः१५ बजेदेखि प्रँरम्भ भएको खेलमा एशियाका दुई मुलुक भिडिरहेका छन् । श्रीलंका र बंगलादेशको यो खेल अहिले जारी छ । बंगलादेशले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको यो खेलमा ताजमा अवस्थामा श्रीलंकाले ११ ओभरमा तीन विकेट गुमाएर ८० रन बनाएको छ । श्रीलंकाका ओपनर पथुम निशांका ४६ रन बनाएर आउट भए भने कुशल मेन्डिसले १० रनको योगदान दिए । कामिन्दु मेन्डिस ४ रनमै आउट भए । अहिले धनन्जय डि सिल्भा १२ रन तथा चरिथ अशलंका ९ रन बनाएर खेलिरहेका छन् ।

आज तेस्रो खेलमा समुह डी अन्तर्गतकै नेदरल्याण्डस र दक्षिण अफ्रिका पनि खेल्दै छन् । न्यूयोर्कस्थित नसाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८ः१५ बजेदेखि प्रारम्भ हुनेछ । जारी विश्वकपमा नेदरल्याण्डस र दक्षिण अफ्रिकाले आ–आफ्नो पहिलो खेलमा जीत हासिल गरेर २–२ अंक बटुलेका छन् ।

नेदरल्याण्डसले नेपाललाई पराजित गरेको थियो भने दक्षिण अफ्रिकाले श्रीलंकालाई पराजित गरेको थियो । दक्षिण अफ्रिका र नेदरल्याण्डसबीच अहिलेसम्म दुई टी२० खेल भएका छन्, जसमा दुवैले एक–एक खेल जितेका छन् । नेदरल्याण्डसले पछिल्लो २०२२ मा सम्पन्न टी–२० विश्वकपमा दक्षिण अफ्रिकालाई १३ रनले पराजित गरेर स्तब्ध बनाइदिएको थियो ।

त्यसैगरी आज चौथो खेल समुह बी अन्तर्गत अस्ट्रेलिया र इङल्याण्डबीच हुँदैछ । बार्बाडोसस्थित केन्सिङ्टन ओभल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति १०ः ४५ बजेदेखि हुने छ । जारी विश्वकपमा आफ्नो पहिलो खेलमा अस्ट्रेलियाले ओमानलाई पराजित गरेर २ अंक हासिल गरेको छ भने इङल्याण्डले भने स्कटल्याण्डविरुद्धको खेल बर्षाले रद्द भएपछि एक अंक हासिल गरेको छ ।

अस्ट्रेलिया र इङल्याण्डबीच अहिलेसम्म २३ टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा इङल्याण्डले ११ खेल जितेको छ भने अस्ट्रेलियाले १० खेल जितेको छ । त्यस्तै २ खेलको नतिजा आएको छैन । गए राति खेलिएको खेलमा भने क्यानडाले आयरल्याण्डलाई १२ रनले पराजित गरेको छ । १३८ रनको लक्ष्य पछ्याउन मैदानमा प्रवेश गरेको आयरल्याण्डको टोलीले २० ओभरमा ७ विकेट गुमाएर १२५ रनमात्र जोड्न सफल भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर